नेपाल डिभिजन २ मा चौथो, केन्यासँग लगातार दोस्रो हार, नेदरल्याण्ड्स वन्यो विजेता

Share:

काठमाडौं, माघ १० – नेपाल आइसिसी विश्व क्रिकेट डिभिजन टुमा चौथो भएको छ । तेश्रो स्थानका लागि भएको खेलमा शनिबार केन्यासँग १५ रनले पराजित भएपछि नेपालले चौथो हुँदै प्रतियोगिता टुंग्याएको हो ।

केन्यासँग नै शुक्रबार ५ विकेटले पराजित भएपछि नेपालको डिभिजन वानमा बढुवा हुने सपना कम्तिमा यसपटकका लागि टुटेको थियो । शनिबारको हारसँगै केन्यासँग शुक्रबारको हारको बदला लिन नसक्दा प्रतियोगितामा तेश्रो हुँदै सान्त्वना जीत हात पार्ने सपना पनि यसपटक पुरा हुन पाएन ।

२ सय ९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा १ सय ९३ रन मात्र बनाउन सक्यो । विनोद भण्डारीले बनाएको ७३ र ज्ञानेन्द्र मल्लले बनाएको ४८ रन नेपालका लागि काम लागेन । ३७ औ ओभरमा  ६ विकेट गुमाउँदा १ सय ७२ रन बनाउँदै जितका लागि अवस्था सहजजस्तो बनाएपनि त्यसपछि नेपाली ब्याट्स्म्यान धेरैबेर क्रिजमा टिक्न सकेनन् ।

कप्तान पारस खड्काले रनको खातै खोल्न सकेनन् भने ओपनिङ ब्याट्स्म्यानले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । सुवास खकुरेल १० र सागर पुन ११ रनमा आउट भए । यसअघि, पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । नेपालका लागि  सोमपाल कामीले ३, सागर पुनले २ तथा शक्ति गौचन र भुवन कार्कीले १–१ विकेट लिए ।

यसैबिच नेदरल्याण्ड डिभिजन वानको च्याम्पियन बनेको छ । शनिबारै भएको फाइनलमा नामिबियालाई ८ विकेटले हराउँदै नेदरल्याण्ड पहिलो भएको हो । २ सय १३ रनको लक्ष्य नेदरल्याण्डले ४१ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो ।

कमेन्ट गर्नुहोस्
Share: