रामेश्वरी उच्च माविको स्वर्ण महोत्सव, प्रक्रिया अघि बढ्दैमा सहमतिको बाटो बन्द हुन्नः रिजाल

Share:

रञ्जन अधिकारी पोखरा, ११ माघ / सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले प्रक्रिया अघि बढ्दैमा सहमतिको बाटो बन्द नभएको बताएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षी दलको अवरोधका बीच आफैं प्रश्नावली समिति गठन भएको घोषणा गरिरहँदा आईतबार दिउँसो पोखरा १४ मझेरीपाटन स्थित रामेश्वरी उच्च माविको स्वर्ण महोत्सव विशेष कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले भनेः ‘भर्खरै जानकारी आयो, संविधानसभामा प्रश्नावली समिति गठन भयो । अब प्रश्नावली समितिमा काम गईसकेपछि पनि सहमति नगर्ने भन्ने होईन ।’

मन्त्री रिजालले संविधान जारी गर्न मतदान हुने बेलासम्म पनि असहमत दलहरुसँग सहमतिका लागि तयार रहेको भन्दै साँच्चै सहमति नै चाहेको हो भने प्रक्रिया अघि बढ्दैमा फरक नपर्ने बताए । ‘प्रश्नावली समिति पछि मस्यौदा समिति, त्यसपछि जनताको मत बुझ्ने काम भइसकेपछि संविधानसभामा अन्तिम मस्यौदा आएपछि मतदान हुने बेलासम्म पनि सहमति गर्न सकिन्छ ।’ – उनले भने– ‘हाम्रो चाहना सहमतिबाटै संविधान जारी गर्ने हो । अन्तिमसम्म सहमतिको प्रयत्न गर्छौँ ।’

लगातार काम भएको खण्डमा पनि झण्डै चार महिना प्रक्रियाको काम बाँकी रहेको उल्लेख गर्दै उनले अब प्रक्रिया नै रोकेर सहमतिका नाममा बस्यो भने संविधान बन्न ढिला हुने बताए । ‘अवरोध नभई खुरुखुरु काम गरेपनि चार महिना लाग्छ । अहिलेदेखि नै सहमतिका नाममा फेरि रोकिनु हुँदैन ।’ मन्त्री रिजालले थपे– ‘प्रक्रिया अघि बढिरहन्छ, सहमति भएका विषयहरु समाविष्ट हुँदै जान्छन् । अवरोध भयो भने लामो समय लाग्छ ।’ उनले ७३ सदस्यीय समितिमा ४९ सदस्यको नाम छनौट भएपनि विपक्षी दलहरुका लागि २४ सिट खाली राखेको जानकारी समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री रिजालले संविधानसभामा भएको तोडफोडको घटनाले दुनियाँभर लज्जाबोध महसुस भएको भन्दै संविधान बनाउन छाडेर अर्कै काम देखाउन थालेकोमा एमाओवादी, मधेशी दलहरुप्रति व्यंग्य पनि गरे । ‘तपाईंहरुले टेलिभिजन मार्फत, अखबारमार्फत देखिहाल्नुभयो, संविधान बनाउन प्रतिनिधि पठाउनुभयो, केहि प्रतिनिधि संविधान बनाउने काम छाडेर अन्य काम देखाउनु थाल्नुभयो ।’ उनले भने– ‘तर त्यो परिस्थितिबाट उम्केर संविधान बनाउने काममा लाग्नुछ ।

मन्त्री रिजालले सामुदायिक विद्यालय भएर पनि नीजि विद्यालय स्तरकै गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुशी प्रकट गर्दै अभिभावकहरुको साथले मात्रै सामुदायिक विद्यालयबाट विद्यार्थीले राम्रो शिक्षा प्राप्त गर्न सक्ने उल्लेख गरे । उनले रामेश्वर उमावि नमुना विद्यालय बन्न सकोस् भन्दै शुभकामना पनि दिए ।

विशेष अतिथि नेपाली काँग्रेसकी सभासद् शारदा पौडेलले भने संविधानसभा र संविधानका प्रसंग नउठाई विमानस्थलको मुआब्जा सम्बन्धमा आफूले सक्दो गर्ने बताईन् । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढिरहँदा पोखरा वडा नं. १४, १५ र १८ बासीलाई मर्का नपारी मुआब्जा वितरणमा आफू लागिपरेको दाबी गरिन् । ‘यहाँको विकास सम्बन्धमा जस्तै, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा मेरो तर्फबाट सक्दो सहयोग रहनेछ ।’ उनले भनिन्– ‘तपाईंहरु लाईनमा उभिएर यो महिलाले गर्न सक्छ भन्ने ठानेर जिताईदिनुभयो, म तपाईंहरुमाझ रहेर अघि बढ्नेछु ।’ उनले रामेश्वरी उच्च माविको पूर्वाधार विकासका लागि आफूले व्यक्तिगत तवरबाट समेत आर्थिक सहयोग गर्न तयार रहेको बताईन् ।

स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक भीमसेन थापा, सचिव समेत रहेका विद्यालयका प्राचार्य तुलसीप्रसाद चापागाईं लगायतले बोलेका थिए ।

 

 

कमेन्ट गर्नुहोस्
Share: