राष्ट्रिय लिग फुटबल : थ्रि-स्टारसँग मोरङ ३–० गोल अन्तरले पराजित

Share:

काठमाडौं, माघ ११/ अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको दोस्रो खेलमा थ्रिस्टार क्लब विजयी भएको छ ।

दशरथ रङ्गशाला मैदानमा आइतबार भएको प्रतियोगितामा थ्रिस्टार क्लबले मोरङ फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।थ्रिस्टारको जितमा सन्तोष साउखलले दुई गोल गरे भने मोरङका रुपेश तामाङले आत्मघाती गोल गरे । खेलको पहिलो हाफसम्म एक गोल खाएको मोरङले दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

साउखलले खेलको पहिलो हाफको ३५ औँ मिनेटमा र खेलको ४८ औँ मिनेटमा दुई गोल गरे । त्यस्तै लामाले खेलको ५६ औँ मिनेटमा रुपेश तामाङले प्रहार गरेको रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरे । यस जितसँगै थ्रिस्टारले ३ अङ्क जोडेको छ ।

राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, किरण चेम्जोङ, जगजित श्रेष्ठ, सन्तोष साहुखल, विक्रम लामालगायत अन्तर्राष्ट्रिय फुटबलका अनुभवी खेलाडीहरूले भरिएको खेलमा मोरङ निरिह सावित भयो।

तीनपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन थ्री-स्टार एक साताअघि सम्पन्न मनकामना केबुलकार पोखरा कपको फाइनलमा पुलिससँग पेनाल्टी सुटआउटमा हारेको थियो। सिमरा गोल्डकपमा भने पहिलो खेलमै आर्मीसँग ५-१ ले पराजित भयो। पोखरामा नरहेका विष्णु सुनार र प्रकाश बुढाथोकी टिममा थपिएका छन्। तीनपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हो।

यसअघि यही माघ ७ गते भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले सुदूरपश्चिमाञ्चल फुटलब क्लबलाई पराजित गर्दै विजयी भएको थियो । राजधानी र मोफसलका गरी नौ टोलीले भाग लिएको सो प्रतियोगिताको विजेता टिमले रु एक करोड प्राप्त गर्नेछ ।

भोलि नेपाल प्रहरी क्लब र जगदम्बा लुम्बिनी फुटबल क्लब आमने समाने हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: