
काठमाडौं, माघ १६ । अमेरिका र रुसका दुईजना पाइलटले हिलियम बलुनको यात्रामा नयाँ कीर्तिमान बनाएका छन् । अमेरीकी पाइलट ट्रोए ब्राड्ले र रुसी पाइलट लियोनिद त्युख्तायभले हिलियम बलुनमा सर्वाधिक लामो दुरी तय गर्ने कीर्तिमान बनाएका हुन् ।
एउटा विशाल हिलियम बलुनमा गत आइतबार जापानबाट उडेका ती पाइलटहरुले विहीबार राति नयाँ कीर्तिमानको लागि आवश्यक पर्ने ८ हजार ४ सय ६७ किलोमिटरको दुरी तय गरेको टिम टु इगल्सले ट्वीटरमार्फत् दाबी गरेको छ ।
प्यासिफिक महासागर पार गर्दै ती दुई पाइलटले शनिबार अपरान्ह कुनै सयम अमेरिका वा क्यानडाको कुनै स्थानमा अवतरण गर्ने योजना बनाएका थिए । तर, खराब मौसमका कारण उनीहरु आफ्नो मार्ग परिवर्तन गर्न बाध्य भएको र शनिबार दिउँसो मेक्सिकोमा अवतरण गर्ने जनाइएको छ ।
अहिले आकाशमै उडिरहेका उनीहरुले नयाँ दुरीको कीर्तिमान बनाएसँगै अब सबैभन्दा लामो समय उड्ने अर्को कीर्तिमान बनाउने प्रयास गरिरहेका छन् । यसका लागि उनीहरुले १ सय ३८ घन्टा ४५ मिनेटको उडान गर्नुपर्नेछ ।
यसअघि सन् १९७८ मा तीनजना पाइलटहरुले हिलियम बलुनमार्फत् पहिलोपटक एट्लान्टिक सागर पार गर्दै १ सय ३७ घन्टा ५ मिनेट ५० सेकेन्डको कीर्तिमान बनाएका थिए ।
बलुन उडानमा कुनैपनि कीर्तिमान कायम गर्न पुरानो कीर्तिमानलाई कम्तिमा पनि १ प्रतिशतले पछाडि पार्नुपर्ने हुन्छ । (एजेन्सी)
