कांग्रेसले आज सबै पालिकामा प्रदर्शन गर्दै

Share:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (शनिबार) देशभरका पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो ।

गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।

आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार (हिजो) नै नेता कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।

यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि हिजै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे थिए ।

कमेन्ट गर्नुहोस्
Share: