
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले औषधी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ, पोखरा इकाईको १५ औं अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले स्वदेशी जडीबुटीको प्रयोग गरेर देशलाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याए ।
अझै पनि ठूलो मात्रामा विदेशी कम्पनीका औषधी आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले स्वदेशकै कच्चा पदार्थमा आधारित औषधी उद्योगको स्थापना जरुरी रहेको बताए । औषधी बिक्री प्रतिनिधिहरूलाई सामूहिक रुपमा लगानी गरी औषधी उद्योग खोल्न सुझाव दिँदै प्रदेश प्रमुख शेरचनले स्वदेशी औषधी उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए ।
एक अर्को प्रसंगमा उनले औषधी बिक्री प्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरूको उचित सम्मान हुनुपर्ने उल्लेख गरे । पेशागत सम्मान र सेवा सुविधाका लागि राज्यको ध्यान जानु आवश्यक रहेको भन्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य क्षेत्र हेर्ने राज्यका निकायमा स्वास्थ्य क्षेत्रकै जानकार कर्मचारीलाई स्थान दिनुपर्ने धारणा व्यक्त गरे ।
संघका पोखरा इकाई अध्यक्ष निरज पन्तको अध्यक्षतामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
