
रञ्जन अधिकारी/ पोखरा, २० माघ| गत वर्षको विजेता सहारा क्लब यस वर्ष भने पहिलो खेलबाटै बाहिरिएको छ । पोखरामा मंगलबारदेखि आयोजित १३ औं आहा रारा गोल्डकप फूटबल प्रतियोगितामा आयोजक सहारा नयाँ पाहुना टोली सिमराको नव जनजागृति क्लबसँग टाईब्रेकरमा पराजित भएको हो । एघारौं संस्करणमा पनि फाईनल पुगेको सहारा यसपटक भने दोस्रो चरणमा प्रवेश गर्न सकेन । पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई टाईब्रेकरमा ४–३ ले हराउदै प्रतियोगितामा पहिलोपटक सहभागी सिमरा अन्तिम आठमा प्रबेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट ३–३ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसकेपछि टाईब्रेकरबाट नतिजा निकालिएको हो ।
नवजनजागृतिका लागि कुमार गुरुङ, सञ्जय राजवाहक, सन्दिप सिलवाल र कप्तान राज पौडेलले गोल गरे । मनु चौधरीको प्रहार आकाशिएको थियो । सहाराका अनिल ओझा, भुपाल गुरुङ र गोलकिपर सागर गुरुङले गोल गर्न सफल भएपनि गोविन थापा र जोयल गुरुङको प्रहार विपक्षी गोलरक्षक बाबु मगरले सेभ गरेका थिए ।
खेलको २६ मिनेटभित्रै तीन गोलले अग्रता लिएको नवजनजागृति सम्हालिन नसक्दा नतिजा आफ्नो पक्षमा पार्न पेनाल्टी सुटआउटको सहारा लिनुप¥यो । चौथौ मिनेटमै रवि पासवानको गोलबाट अग्रता लिएको नवजनजागृतिका लागि खेलको १० र २६ औं मिनेटमा कुमार गुरुङले गोल थपे । तीन गोलले पछि परेको सहाराका तर्फबाट अनिल ओझाले ३० औं मिनेटमा गोल गर्दै अग्रता ३–१ मा झारे । दोस्रो हाफमा दुई गोल थप्ने क्रममा सहाराका लागि अनिल गुरुङले ५३ औं मिनेट र सुवास गुरुङले ८५ औं मिनेटमा गोल गरे । अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन र खेल टाईब्रेकरमा धकेलिएको हो । खेलको म्यान अफ दि म्याच नवजनजागृतिका लागि दुई गोल गरेका जर्सी नं. १४ का कुमार गुरुङ भए । खेलमा सहाराका राकेश गुरुङ, अनिल गुरुङ र अनिल ओझा तथा नवजनजागृतिका सरोज तामाङलाई रेफ्री सुदिश पाण्डेले पहेंलो कार्ड देखाए ।
खेलपछि सहाराका प्रशिक्षक विष्णु केसीले तीन गोलले पछि परिसकेको अवस्थामा हतास नभईकन कमब्याक गर्न सक्नु भनेको राम्रो खेल नै मान्नुपर्ने बताउँदै समग्रमा राम्रो प्रदर्शन गर्दा गर्दै उद्घाटन खेलबाटै बाहिरिन बाध्य भएको उल्लेख गरे । ‘नराम्रो भन्न मिल्दैन । पेनाल्टी सुट आउट भन्ने कुरा त फिप्टी–फिप्टी हो ।’ केसीले भने ।
नवजनजागृतिका प्रशिक्षक जीवन लामाले जुन हिसाबले हामीले फाईदा लिनुपर्ने थियो त्यसअनुसार नसकेको भन्दै आयोजक टिम विरुद्ध गाह्रै हुने बताए । ‘उनीहरुलाई होम ग्राउण्डको फाईदा मिल्यो र कमब्याक गर्न सक्यो ।’ उनले भने– ‘अन्त्यमा नतिजा हाम्रै पक्षमा आयो ।’ पोखराकै तीन खेलाडी पनि टीममा रहेको भन्दै उनले एकेडेमीका खेलाडीहरुलाई पनि स्थान दिएको बताए । सिमरा गोल्डकपमा आयोजक नवजनजागृति सेमिफाईनलसम्म पुगेको थियो ।
बुधबार दोस्रो प्रिक्वार्टरफाईनल खेल सशस्त्र प्रहरीको एपीएफ र सुदुर पश्चिमाञ्चल कैलालीबीच हुनेछ । यसअघि, प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव युवराज लामाले गरे । उनले मोफसलमा रहेर सबैको साथ र सहयोगमा एकेडेमी नै सञ्चालन गरी नेपाली फूटबल क्षेत्रमा सहारा क्लबले गरेको योगदान सराहनीय रहेको बताए । सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव केशवबहादुर थापाले गरेका थिए ।
अकस्मात मौसम बदली भई पोखरामा हावाहुरी र वर्षा हुन थालेपछि खेल झण्डै स्थगित हुने अवस्थामा पुगेको थियो । हावाहुरीले स्वागतद्वारा भत्काउनुका साथै रंगशालाका बारहरु समेत उडयो । मञ्चको छानो उडाउँदा प्राविधिक देव गुरुङको टाउकोमा चोट लागेको छ । पहिलो हाफसम्म घाम लागेपनि फेरि दोस्रा हाफमा हावाहुरी र वर्षा सुरु भएको थियो । बुधबारको खेल सुरु हुनु अघिसम्म रंगशालाको छेकबार तथा विज्ञापन ब्यानरहरु मर्मत गरिसक्ने आयोजक सहारा क्लबले जनाएको छ ।

