
बुटवल । प्रधामन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।
नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले अघि भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’
उनले अघि थपेका छन्, ’एक दुई दिन लुकेर बस्लान् एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । पूराका पूरा सजाय गराएर छाड्नेछौँ ।’
प्रधानमन्त्रीले भागरथी हत्यामा संलग्न अपराधी केही समयभित्रै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
उनले आफूहरुका कामले दाहाल–माधव समूह आत्तिएको, डराएको समेत बताए ।
प्रधानमन्त्री ओलीले दाहाल–माधव समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट दुई समूहमा विभाजितत भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–माधव समूहले गरेको छ ।
दुवै समूहले आफ्नो पक्षमा कार्यकर्ता रहेको देखाउन सभा र सम्मेलन गर्दैआएका छन् ।
