राज्यका सबै तहमा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः नेकपा नेतृ केसी

Share:

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सह–इन्चार्ज मन कुमारी के.सी. जिसीले समृद्ध नेपाल निर्माणका लागि राज्यका सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन् ।

अखिल नेपाल महिला संघ बागलुङको शुक्रबार अगुवा कार्यकर्ता भेलामा बोल्दै केसीले नीति निर्माण लगायत राज्यका सबै तहमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिएकी हुन् ।

मुलुक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै उनले समृद्धिका लागि महिला र पुरुष संगसंगै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लिला बहादुर थापाले मुलुक यतिबेला संकटपूर्ण अवस्थामा पुगेको भन्दै अवसरवादी र पदका आशक्तिहरुको भण्डाफोर गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा.सूर्य पाठकले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाका बारेमा चलाइएका भ्रम र आरोपहरुको खण्डन र निर्वाचनको पक्षमा ऐक्यवद्धताका लागि गण्डकी प्रदेशमा जनसभाको आयोजना गरिएको भन्दै उनले सक्रिय सहभागिताका लागि आव्हान गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कार्यालय सदस्य कृष्ण पाठक, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय भीमा अधिकारी र हुमा कुमारी जि.सी.(अञ्जु) लगायतले फागुन १५ गते पोखरामा हुने नेकपाको जनसभामा आम महिलाहरुलाई सक्रिय सहभागिताका लागि आव्हान गरेका थिए । कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य सावित्रा रानाको अध्यक्षता, उपाध्यक्ष यमुना काउचा मगरको स्वागत र लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

फागुन १५ गते नेकपाले पोखरामा आयोजना गरेको जनसभा सफल पार्ने उदेश्यका साथ आयोजित भेलाले महिलाहरुको सक्रिय सहभागिताका लागि आव्हान गर्ने निर्णय गरेको छ । १ लाख ३० हजार मानिसको सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने सभामा बागलुङबाट ८ हजार मानिस सहभागि गराउने लक्ष्य रहेको जिल्ला सह–इन्चार्ज केसीले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
Share: