
पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको निर्माण सम्पन्न भएको छ ।
संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे भवन करिव १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएकोे जनाईएको छ । भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । उक्त चौकीबाट हाल वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, विरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिए ।
घार्मीमा स्वास्थ्य चौकी स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती कार्यक्रम तथा नवनिर्मित भवनको फागुन २१ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुहुने पोखरा १९ का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रमका विषयमा जानकारी दिन आयोजित छलफलमा अध्यक्ष पौडेलले स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको बताउदै, नयाँ भवन निर्माणसगै स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्न सकिने बताए । फागुन २१ गते गरिने कार्यक्रमलाई व्यवस्थित वनाउन पौडेलको अध्यक्षतामा ५० सदस्यीय मुल समिति र विभिन्न ७ वटा उपसमिति समेत गठन गरिएको छ । गठित मुल र विभिन्न उपसमितिले तयारीलाई तिव्रता दिएको उपाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।
मुख्यमन्त्री आउने कार्यक्रमलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराख्ने गरी समिति तयारीमा जुटेको छ । कार्यक्रममा स्थापनाकाल देखि हालसम्मका स्वास्थ्य स्वयं सेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, जग्गादाता, स्वास्थ्य चौकी स्थापनामा महत्वपुर्ण भुमिका खेल्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने बताईएको छ ।
उक्त भवन ७ महिना अगाडी तत्कालिन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास गरेका थिए । उक्त स्वास्थ्य चौकीको सेवा घार्मीमा स्थानिय युवा क्लवको भवनवाट शुरु गरिएको थियो भने पछि तत्कालिन जिल्ला विकास समितिको सहयोगमा सामान्य जस्तापाताको टहरो बनाई सेवालाई निरन्तरता दिईएको थियो । पोखरा महानगरभित्रै भएर पनि सामान्य स्वास्थ्य सेवा पनि नपाएका स्थानियवासी भवन निर्माण भई सहज रुपमा स्वास्थ्य सेवा पाएपछि हर्षित भएका छन् ।

