
पोखरा । गण्डकी बहु प्राविधिक शिक्षालय आयोजनामा मन्टेश्वरी शिक्षा सम्बन्धी तालिम सोमबार देखि पोखराका दुई ठाउँमा शुरु भएको छ ।
तालीमको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले प्राविधिक धारका विषयहरुको महत्व बढ्दै गएको बताए । मन्टेश्वरी तालीम प्राप्त गरेका सक्षम जनशक्तिलाई रोजगारीका अवसरहरु प्रदान गर्न उनले सरोकारवालाहरुसँग आग्रह समेत गरे ।
पोखरा महानगरपालिका भित्र रहेका आर्थिक रुपमा कमजोर तथा बेरोजगार महिलाहरुलाई सक्षम बनाई रोजगारीका अवसरहरु सिर्जना गर्न सकियोस भन्ने उद्धेस्य सहित तालीम शुरु भएको गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
पेखरा उपत्यका नगर विकास समितिको सभाहल र लेखनाथको भण्डारढिक स्थित हलमा तालीम सञ्चालन गरिने छ । दुबै ठाउँमा समान २५÷२५ जना सहभागी रहेको तिमिल्सिनाले बताए । “अहिले दुई ठाउँमा गरी ५० जना सहभागी हुनुहुन्छ, सबै सहभागीहरु पोखरा महानगरका वडाको सिफारिसका आधारमा छनौट भएर आउनु भएको हो” तिमिल्सीनाले भने । लामो समयदेखि मन्टेश्वरी क्षेत्रमा क्रियाशिल रहेर अनुभव हासील गरेका प्रशिक्षक मिलन केसी र शान्ता खत्रीले तालीममा सहजीकरण गर्ने उनले जनाए ।
पोखरा महानरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यको अध्यक्षतामा भएको सिटिईभिटी गण्डकी प्रदेश प्रमुख सञ्जय न्यौपानेले प्राविधिक ज्ञानको महत्वबारे बोलेका थिए । त्यस्तै तालीमको आवस्यकता बारे शिक्षा महाशाखा अधिकृत विश्वराज आचार्यले प्रकाश पारेका थिए भने तालीम सञ्चलन प्रकृयाबारे मिलन केसी र शान्ता खत्रीले प्रस्तुति राखेका थिए । उक्त तालीममा जोन्टा क्लबले सहभागीहरुका लागि स्टेशनरी सामाग्री उपलब्ध गराउने क्लबका उपाध्यक्ष मनिकाथापाले जानकारी दिईन् । शिक्षालयले यसअघि १५जनाका लागि प्लम्बीङ सम्बन्धी तालीम सञ्चालन गरिसकेको छ ।
