
पोखरा । विश्वमा सुख, शान्ति एवं भाइचारा स्थापना गर्ने उद्देश्य सहित महाशिवरात्री २०७७ को अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराले सर्वमान्य ज्योति स्वरुप परमात्मा शिवको चिन्ह अकिंत् झण्डा ध्वजारोहण, क्यान्डल लाइटिङ, शिवरात्री रहस्योद्घाटित प्रवचन, शान्ति शोभायात्रा लगायत महाशिवरात्री गहन संगठित योग तपस्या भट्टी आयोजन गरी सम्पन्न ग¥यो ।
गण्डकी प्रदेशका माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम संस्थाको क्षेत्रीय कार्यालय पोखरा, नयाँबजार–९ बाट सुरु गरिएको थियो भने एक सुन्दर झाँकी सहितको बृहत शान्ति शोभायात्रा, पोखरा बजारका मुख्य भाग परिक्रमा गर्दै हाल पोखरा–११, फूलबारीमा निर्माणाधीन दिव्य शान्ति अनुभूति केन्द्रको निर्माण स्थलमा पुगेर महाशिवरात्री गहन संगठित योग तपस्या भट्टीको रुपमा परिणत भएको थियो ।
कार्यक्रममा सभा अध्यक्षता गरिरहनुभएका ब्रह्माकुमारीज नेपालका अध्यक्ष तथा निर्देशक रा्जयोगिनी ब्रह्माकुमारी परिणीता दिदी ज्यूले सर्व मानव आत्माहरुका परमपिता शिव वर्तमान समयमा अवतरण भई सम्पूर्ण मानव आत्माहरुलाई सुख, शान्ति, आनन्दको जन्मसिद्ध अधिकार प्रदान गरेको यादगार पर्व भएकोले नै स्वरुप मनाइने यस शिवरात्री सार्वभौमिक पर्व भएको बताए । सो अवसरमा परमात्मा शिव र शिवरात्रीको आध्यात्मिक रहस्य झल्काउने चित्रहरु, व्यानरहरु प्रर्दशन गरिएको थियो भने शिव संदेशमुलक पर्चाहरु वितरण गरिएको थियो ।
परमात्मा शिव भगवान परमधामबाट यस धर्तीमा अवतरण हुनुभएको यादगार पर्व ८५ औं त्रिमूर्ति शिव अवतरण दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा ग.प्र. प्रदेश सभा सदस्य, माननीय मिना गुरुङ, आदर्श समाज प्रधान सम्पादक श्री कृष्ण प्रसाद बास्तोला, प्रेस संगठन ग.प्र. संयोजक सुष्मा पौडेल, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष पार्वती पौडेल, व्युटिसियन नेपालका अध्यक्ष सुमन गुरुङ, समाजसेवी उत्तम जोशी, महानगर महिला समितिका अध्यक्ष दुर्गा बास्तोला, क्रियाशिल पत्रकार महिलाका महासचीव चन्दा विष्ट, पो.म.न.पा. ९ वडा अध्यक्ष रामराज लामिछाने, पो.म.न.पा. १२ वडा अध्यक्ष राम बहादुर कार्की, पो.म.न.पा.वडा अध्यक्ष रामचन्द्र बराल, पत्रकार महासंघ कास्की सहसचिव दिनानाथ बराल, वडा न ११ का अध्यक्ष मोहन प्रसाद बास्तोला, वडा सदस्यहरु एवम् नगरका अन्य प्रतिष्ठित उद्योगी, व्यापारी, समाजसेखी एवं मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो । शोभायात्रामा ब्रह्माकुमारी ईश्वरीय ईश्वरीय विश्व विद्यालय पोखरा एवं आसपासका शाखा उपशाखा एवं इकाई शाखाहरुबाट आएका करिब २००० जना सदस्य तथा शुभेच्छुक महानुभावहरुको पनि उपस्थिति रहेको थियो ।
संस्थाका महासचीव वरिष्ठ राजयोगी ब्रह्माकुमार शैलेष राज बरालको संयोजकत्वमा आयोजना भएको उक्त कार्यक्रमको सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभा र राजयोगी ब्रह्माकुमार शंकरले गरेका थिए ।

