‘माओवादी रुँदा कसैले कठै भन्दैन’ पेरिसडाँडाले यसरी सम्झियो ‘जनयुद्ध’

271
0
Share:

१ फागुन, काठमाडौं । एमाओवादीले २० औं जनयुद्ध दिवस मनाइरहँदा पार्टीले युद्धमा होमिएका कार्यकर्ताहरुको योगदान भुलेको गुनासो झन् चर्को हुँदै गैरहेको छ । यो आक्रोश मिश्रित गुनासो शुक्रबार एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि देखियो ।

प्रमुख अतिथि एमाओवादी अध्यक्ष प्रचण्ड रहेको सो कार्यक्रममा वेपत्ता परिवारका तर्फबाट बोल्दै सभासद रुपा महर्जनले पार्टीले इमान्दार कार्यकर्ताहरुलाई भुलेको र नेताहरु सुविधाभोगी भएको गुनासो गरिन् । शहर केन्द्रित हुने, कार्यकर्ताका समस्या नबुझ्ने, युद्धमा योगदान गरेकालाई भन्दा युद्धमा लाग्दै नलागेकालाई काखी च्याप्ने गरेकोले पार्टीको आकार खुम्चिँदै गएको रुपाको गुनासो थियो । रुपा महर्जनका श्रीमान् सुचेन्द्र श्रेष्ठलाई तत्कालीन सरकारले ०६० साल पुसमा काठमाडौंबाट वेपत्ता पारेको थियो । सुचेन्द्र कहाँ छन् अहिलेसम्म थाहा छैन । रुपा दोस्रो संविधानसभामा समानुपातिक सभासद छिन् । उनमा लागेको जनयुद्धको घाउ मेटिएको छैन ।

शान्ति सम्झौता भएको ६ महिनाभित्र बेपत्ता छानविन आयोग बनाउने भनिएको थियो, ८ वर्षपछि बल्ल आयोग गठन भएको छ । यसले सुचेन्द्रजस्ता बेपत्ता नागरिकको खोजी गर्न भ्याएको छैन ।

विद्रोहको गीत गाउनुस् : प्रचण्ड

रुपाको जस्तै गुनासो माओवादीका धेरै कार्यकर्ताहरुका छन् । शुक्रबार पेरिसडाँडामा भेला भएका कार्यकर्ताहरु समुह समुहमा भेला भएर पार्टी बिग्रिएको गुनासो गरिरहेका थिए । तर, सोही कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले निराशाका गीत नगाउन र विद्रोहका गीत गाउन पार्टी नेता-कार्यकर्तालाई निर्देशन दिए ।

प्रचण्डले भने, ‘रोना धोनाको कुरा छोड्नुस्, तपाईं हामी रोएर कसैले कठै भन्नेवाला छैन, अब निराशाका गीत गाउन छाड्नुस्, विद्रोहका गीत गाउन सुरु गर्नुस् ।’ प्रचण्डले कांग्रेस-एमालेले परिवर्तनका मुद्दालाई अंगीकार गर्न नसक्दा अहिले उपलब्धि गुम्दै गएकाले फेरि जनताहरु आन्दोलित हुनुपर्ने बताए । एमाओवादी र ३० दलीय मोर्चाले सुरु गरेको आन्दोलन सफल भए राजनीतिक परिस्थिति एमाओवादीको हातमा आउने र आन्दोलन असफल भए कांग्रेस-एमालेकै अनुकूल हुने प्रचण्डको भनाइ छ ।

कार्यक्रममा प्रचण्डले भने, ‘पार्टी के भो, संगठन के भो भनेर छाड्दिनुस्, कुनै संगठन भएर जनयुद्ध सुरु भएको होइन । माओवादी आन्दोलन सिद्धिएको छैन, सिद्धिने पनि छैन, प्रचण्ड र बाबुराम बिग्रिए भने पनि माओवादी आन्दोलन रोकिँदैन ।’

प्रचण्डले आफूहरुको पहिलो चरणको आन्दोलन सफल भए अर्को बर्षको फागुन १ गते मोहन वैद्य, विप्लव, मात्रिका यादव, लगायतसँग एकै ठाउँ बसेर जनयुद्ध दिवस मनाउने दावीसमेत गरे । यसैपाली सँगै बसेर जनयुद्ध दिवस मनाउने प्रयास गरे पनि सफल हुन नसकेको प्रचण्डले बताए ।
प्रचण्डले जनयुद्धबाट आएको गणतन्त्र, संघीयता, समावेशिताको मुद्दा लत्याउन खोजे कांग्रेस-एमाले बढारिने चेतावनी दिए । उनले आफूहरुलाई फेरि मुद्दा लाउने र जेलमा हाल्ने सपना नदेख्न चेतावनीसमेत दिए ।

प्रचण्डले भने, ‘हामी कसका सन्तान हौं भन्ने सबलाई थाहा छ । हामी मृत्युलाई हत्केलामा राखेर विहानदेखि बेलुकासम्म बसेका हौं, कोहीसँग तर्सिदैनौं । यीनीहरुको जेल, यिनीहरुले लगाउने मुद्दा हाम्रो लागि रौं बराबर पनि होइन ।’

पासाङले भने-हतियार उठाउन आइतबार चाहिँदैन

कार्यक्रममा माओवादीको पूर्व जनसेनाका कमाण्डर नन्दकिशोर पुन पासाङले आफ्नो पार्टीलाई कमजोर नआँक्न चेतावनी दिए । उनले जनयुद्धबाट प्राप्त हालसम्मका उपलब्धी मेट्न कांग्रेस-एमाले लगायत दल उद्दत भएको आरोप लगाए । सत्तामा रहेका दल नसुध्रिए फेरि हतियार उठ्ने र जनसेना निर्माण हुने पासाङले चेतावनी दिए ।

उनले भने, ‘पूर्व पीएलएको कमाण्डर म यहिँ छु, वर्तमान पीएलए बन्न पनि तयार छु, हतियार उठाउन कुनै आइतबार पर्खिनु पर्दैन ।’ कार्यक्रममा सहिद परिवारको तर्फबाट राममाया बोगटी र घाइते अपाङ्गको तर्फबाट सुनिता रेग्मी ‘योजना’ले पनि धारणा राखेका थिए ।

त्यसअघि पार्टी कार्यालय परिसरको सहिद, वेपत्ता र घाइते अपाङ्ग योद्धाहरुको सम्झनामा निर्मित स्तम्भमा नेता कार्यकर्ताहरुले माल्यार्पण गरेका थिए । पेरिस डाडाँडामा सहभागीहरुले एकअर्कालाई रातो टीका लगाइदिएर जनयुद्धको शुभकामना आदान प्रदान पनि गरेका थिए ।

अनलाईनखबरबाट साभार

कमेन्ट गर्नुहोस्
Share: