
बागलुङ । वायु प्रदूषणका कारण सरकारले मङ्गलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि बागलुङ नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्नेभएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो ।
बागलुङ नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले मंगलबार बिहान विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ । नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष स्तरीय बैठकले उक्त निर्देशन दिएको हो ।
नगर शिक्षा अधिकारी दण्डपाणी शर्मा द्वारा जारी विज्ञप्तिमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ ।
कोभिडको कारण लामो समय बन्द भएका विद्यालय भर्खर खुलेको र कोभिडको दोर्सो लहरको जोखिम बढेकोले स्वास्थ्य सजगता अपनाएर विद्यालय संचालन गर्ने निर्णय भएको शर्माले जानकारी दिए ।

