
पोखरा २ फागुन ।
पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको उपाधिका लागि आज चिरपरिचित प्रतिद्धन्दी मनाङ मस्र्याङदी क्लव र थ्रिस्टार क्लव भिड्दैछन् ।
फाईनल खेल आज दिउँसो २ बजेपछि पोखरा रंगशालामा सुरु हुनेछ । मनाङ सेमिफाईनलमा सुदुरपश्चिमाञ्चल फुटबल क्लब र थ्रिस्टार क्लब पुलिसलाई हराउदै उपाधि होडमा आएको हो । आहा रारा गोल्डकपमा दुबै टिमले तीन–तीन पटक उपाधि जितेका छन् ।
आहा रारा गोल्डकपमा आठौ पटक फाईनल पुगेको मनाङले यसअघि दोस्रो, तेस्रो र १० औं आहा गोल्डकपको उपाधि उचालेको थियो । यो सहित चौथो पटक फाईनल पुगेको थ्रिस्टार यसअघिको फाईनल यात्रामा उपाधिबाट बिमुख हुनुपरेको छैन । थ्रिस्टार पाचौ, नवौ र ११ औं आहा गोल्डकपको बिजेता टिम हो ।
आहा गोल्डकपको अघिल्ला संस्करणको फाईनलमा यी दुई टिम दुई पटक आमनेसामने भएका छन् र दुबै पटक थ्रिस्टारले उपाधि जितेको छ ।
प्रतियोगिताको बिजेतालाई ३ लाख ५१ हजार र उपबिजेतालाई २ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजक सहारा क्लबले जनाएको छ ।
यस्तै एक जना सर्बोत्कृष्ट खेलाडिले टिभिएस मोटरसाईकल प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक, मिडफिल्डर, गोलकिपर, स्ट्राईकर र डिफेण्डरलाई जनही १० हजार नगद प्रदान गरिनेछ । सर्वाधिक गोलकर्तालाई भने १५ हजार नगद प्रदान गरिने छ ।
माघ २० गतेदेखि सञ्चालित प्रतियोगितामा दुई बिदेशी सहित १२ टोलीले सहभागिता जनाएका थिए ।
