
पोखरा, ४ फागुन । जंगल फेस्टिभलको पृथकता दिन दिनै थपिने क्रममा छ । पछिल्ला दिनहरुमा जंगल फेस्टिभल आउने दर्शकहरुले मनोरञ्जनको थप प्याकेज पाउने आयोजकले बताएको छ । आयोजक परिचय नेपालका अनुसार जंगली थिममा हुने कार्यक्रम र लाईभ साँस्कृतिक कार्यक्रममा पनि दर्शकले थप नौलो स्वाद पाउनेछन् ।
मंगलबार शिवरात्रीको दिन जापानबाट आएको फायर डान्सरको विशेष प्रस्तुती रहनेछ । साथमा चितवनबाट आएका थारु समुदायका मानिसहरुले थारु डान्स पनि देखाउँदैछन् । पोखरेली ब्याण्ड डि मर्चा, लक्ष्य ब्याण्डसँगै विग आईकनका विजेताहरुको विशेष प्रस्तुती फेस्टिभलको आकर्षण बन्ने आयोजकले बताएको छ ।
दर्शकहरुको नयाँ स्वादका लागि जंगली जनावरहरु पनि थप गरिएको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले जानकारी दिए । जंगली जनावर हेर्दै हात्ति सफारीको मज्जा लिने दर्शकहरुका लागि अझै विशेष चिडियाघर बन्ने उनले दाबी गरे ।
चौथो दिनसम्म आईपुग्दा फेस्टिभलमा ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरिसकेको आयोजकले बताएको छ । अध्ययन र अवलोकनका लागि दिनहुँ जसो विभिन्न विद्यालयबाट विद्यार्थीहरु पनि आउने गरेका छन् ।
सोमबार फेस्टिभलमा विशेष जंगली थिमको फेशन शो दर्शकले रुचाए । अरुण गिरीको कोरियोग्राफिमा पोखराका करिब २० जना मोडलले र्याम्पमा हिँडेका थिए । मोडलहरुले ईन्टरनेशनल फेशन कलेजमा अध्ययनरत ४८ जना डिजाईनरले तयार पारेको जंगली थिमको ड्रेस पहिरिएर हिँडेका थिए ।
त्यस्तै कमल खत्री, योगेश काजी बिसी सँगै काठमाण्डौ सर्कसको प्रस्तुती उत्कृष्ट रह्यो । डिजे कोन्मेले पनि फेस्टिभलमा आएका तन्नेरीहरुलाई साँझ अबेर सम्म झुमाएका थिए । राउटे जातिहरुसँग प्रत्यक्ष भेटघाट पनि फेस्टिभलमा आएका दर्शकले गर्न पाउनेछन् । जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा देख्न पाईन्छ । डाँफे होटलले जंगल भित्र सिस्नोको मःमः विक्रि गर्दै आएको छ भने बाजेको सेकुवामा अष्ट्रिचको विभिन्न परिकारहरु समेत दर्शकहरुले निकै रुचाएका छन् ।
विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।

