राज्यले नरुचाएको ‘भीमदत्त’ लाई दर्शकले रुचाउने, फागुन २२ देखि देशभर

Share:

रञ्जन अधिकारी पोखरा, ४ फागुन / नेपाली समाजमा व्याप्त शोषण, उत्पीडन र अन्यायका विरुद्ध शान्तिपूर्ण र पछि सशस्त्र संघर्ष गर्ने क्रममा शहादत प्राप्त गरेका किसान नेता भीमदत्त पन्तको जीवनमा आधारित रहेर बनेको ऐतिहासिक चलचित्र ‘भीमदत्त’ फागुन २२ गतेदेखि अल नेपाल रिलिज हुने भएको छ ।

सुदुरपश्चिमको डडेलधुरामा जन्मिएका जातिय छुवाछुत विरुद्धको अभियन्ता ब्राह्मण परिवारका भिमदत्त २००७ सालको प्रजातन्त्रको लागि पनि लडेका योद्धा हुन् भने पूर्वमा बिपी, मध्यमा पुष्पलालले मोर्चा सम्हाल्दा भीमदत्तले पश्चिम मोर्चा सम्हालेका थिए । उनलाई तत्कालिन शासकले २०१० साउन १७ गते हत्या गरेका थिए । सर्वसाधारण नागरिकको न्याय, राष्ट्रको सुरक्षा र सार्वभौमसत्ताको रक्षाका लागि लड्दा नेपाली भूमिमा भारतीय सेना र नेपाली सेनाको संयुक्त फौजले परास्त गर्न नसकेपछि उनकै सहदोर मितद्वारा हत्या गरिएका थिए । कायरतापूर्ण हत्यापछि सात दिनसम्म बडाहाकिमको घर अघि बासको लिंगोमा टाउको झुण्डाएर राखिएको थियो । भारत छोड आन्दोलनमा समेत सहभागी भीमदत्तले जब भारतसँग सन् १९५० को सन्धीलाई विरोध गर्दै सशस्त्र फौज नै निर्माण गरी उत्रिए, तत्कालिन मात्रिका कोईरालाको सरकारले भारतीय सेनालाई नै पत्राचार गरी भीमदत्तको फौज विरुद्ध युद्ध सुरु गरेको थियो तर उनी पराजित भएनन् ।

राज्यले नरुचाएको व्यक्तित्व भीमदत्तको जीवनी ६ दशकपछि पर्दामा उतारिएकाले दर्शकले भने रुचाउने दाबी गरिएको छ । गोल्डेन आई फिल्मस्को चौथो प्रस्तुति ‘भीमदत्त’लाई नवल खड्काले निर्माण गरेका हुन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा निर्माता खड्काले जानकारी दिए अनुसार भीमदत्तलाई चलचित्रमा न्याय गरिएको छ । ‘विर्सिएको योद्धालाइ पर्दामा उतारेका छौं, यो ऐतिहासिक फिल्म हो सबैले एकपटक हेरिदिन अनुरोध गर्दछु’ निर्माता तथा नायक खड्काले भने, ‘यो फिल्म हेर्नु भनेको राज्यबाट तिरस्कृत भीमदत्तलाई सम्मान गर्नु हो । उनी जे मुद्धाका लागि लडे, अझै पनि सुधार हुन सकेको छैन । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले निःशुल्क हेर्न पाउनुहुनेछ।’

20150216_095356

चलचित्रलाई हीमग्याप लामा (टासी)ले निर्देशन गरेका हुन् । पोखराको विन्ध्यवासिनी चलचित्र हलको पर्दामा लाग्नेछ । देशका करिव ८० स्थान र विदेशका झण्डै १० देशमा प्रदर्शनी भएको ‘भीमदत्त’ चलचित्रको बजारमा राम्रै चर्चा हुने गरेको छ । सवा करोड रुपैयाको लागतमा निर्माण भएको चलचित्र करीब ५० प्रतिशत लगानी सुरक्षित भईसकेको निर्माण पक्षले जनाएको छ ।

नवल खड्का, सुमिना घिमिरे, निशा अधिकारी, श्रीराम पुडासैनी लगायतको अभिनय रहेको छ । नायिका निशा भारतमा र सुमिना हराईरहेको भन्दै खड्काले सबैले आफ्नो चरित्रमाथि न्याय गरेको दाबी गरे । कलाकार पुडासैनीले नेपालको बास्तविक कथालाइ प्रविधि र प्रस्तुतीका हिसाबले हलिउडको शैलीमा बनाइएको बताए । ‘यहाँको बास्तविक घटनालाइ हलिउडको प्रविधि र प्रस्तुतीमा निर्माण गरिएको छ’ पुडासैनीले भने, ‘फिल्म राम्रो बनेको छ, नेपाल र विदेशमा भएका च्यारिटि शोमा राम्रो प्रतिक्रिया पाएका छौं ।’ उनले सबैलाइ हेरिदिन आग्रह समेत गरे । नेपाली चलचित्र क्षेत्रमा लुकेका पात्रहरुको खोजी हुनुपर्ने मान्यताकासाथ ‘भीमदत्त’ निर्माण गरेको खड्काले बताए ।

खड्काले यसअघि ‘माया बसेछ’, ‘आवाज’ र ‘दशगजा’ निर्माण गरिसकेका छन् । दशगजा निर्माणका क्रममा ५ करोडको अफर, ज्यानै मार्ने धम्की आएको र सेन्सरले पनि दुःख दिएको जनाउँदै उनले भीमदत्त चलचित्रको सेन्सरमा दर्जन सिन काट्न भनेपनि अटेर गरी चलाउँदै आएको बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: