मुलुकको समृद्धिका लागि स्थिरता आवश्यकः प्रदेश प्रमुख शेरचन

Share:

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि स्थिरता आवश्यक रहेको बताएका छन् ।

भरतपोखरी विकास मञ्च, पोखरा–३३, भरतपोखरीको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ वर्षमा मुलुकमा स्थिरता नआओस् भनी कामना समेत गरेका छन् । “भरसक कुनै पनि परिस्थितिबाट मुलुकमा अस्थिरता उत्पन्न नहोस्”, उहाँले भन्नुभयो, “अस्थिरता भनेको वैदेशिक हस्तक्षेप निम्त्याउने साधन हो, स्थिरता नेपाललाई समृद्ध र सुखी बनाउने साधन हो ।” नेपाली जनताको आकांक्षा र भावनालाई सम्झिएर अघि बढ्न समेत उनले आह्वान गरेका छन् ।

नयाँ वर्ष विभाजित मनहरूको पुनर्मिलनको वर्ष बन्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले विकासका लागि सबैको एकता आवश्यक रहेको बताए । भ्रष्टाचार विकास र समृद्धिको बाधक रहेको भन्दै उनले विकासका लागि सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।

पोखरा–३३ का वडाध्यक्ष शिवराज आचार्यले सरकारले अघि सारेका विकास आयोजना पूरा गर्न अवरोध हुने गरेको भन्दै जनताले विकासमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । विकासका नाममा कसैको उठिबास नहोस् भन्नेतर्फ स्थानीय सरकार सचेत रहेको भन्दै उनले विकास आयोजना सफल बनाउन सहज वातावरण बनाउनु सबैको दायित्व भएको बताए ।

कार्यक्रममा नेकपा (एमाले) नेपाल–खनाल समूहको कास्की जिल्ला अध्यक्ष धनराज आचार्य, नेपाली कांग्रेस, कास्कीका क्षेत्रीय उपसभापति विजयराज आचार्य, सरस्वती टीका बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष काशीराज आचार्य, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी, पूर्व गाविस अध्यक्ष यज्ञराज अधिकारीलगायतले भरतपोखरीको विकासको आवश्यकता बारे बोलेका थिए । मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चलाई सहयोग गर्ने सहयोगदाताहरूलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै, मञ्चले प्रकाशन गरेको नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो विमोचन समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: