
पोखरा । जन्मदिन, सबैको बिशेष दिन । हरेकलाई आफ्नो जन्मदिन महत्वपुर्ण हुन्छ ।
जन्मदिनमा परिवार, साथीभाईसँग ‘गेट टुगेदर’ त भइ नै हाल्यो, सामाजप्रतिको उत्तरदायित्व पनि बोध गर्न थालेका छन् युवाहरु । धेरथोर सकेको सहयोग गरौँ भन्ने भावना पछिल्ला दिनहरुमा बढ्दै गरेको पाइन्छ ।
यहि भावना आत्मासात् गरेका पोखरा ३० का बिश्वास गौतमले जन्मदिनको अवसरमा सहयोग गरेका छन् । गौतमले पोखरा २१का विपन्न अपाङ्गहरुलाई आज (सोमबार) खाद्यान्न सहयोग गरेका हुन् ।
कोभिड १९को महामारीले निम्त्याएको संकटमा राहातको मल्हम बोकेर उनि आज पोखरा २१ कृस्ती स्थित वडा कार्यालय पुगे । ‘हामीले वडा कार्यालयको समन्वयमा बिशेषतः अपाङ्गहरुलाई लक्षीत गरेर सहयोग गरेका हौँ । आर्थिक अवस्था अत्यन्तै न्यून भएका अपाङ्गहरुलाई यो महामारीको बेला त झन् अप्ठ्यारो हुन्छ । आज, जन्मदिन पनि हो । यहि मेसोमा सहयोग गर्ने सु अवसर पनि प्राप्त भएको छ,’ गौतमले सुनाए । गौतमले २० बोरा चामल, तेल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यले युवाहरु समाज रुपान्तरण र बिकासका लागि एक्सनमा उत्रिनुपर्नेमा जोड दिए । गौतमलाई शुभकामना एवं धन्यवाद दिँदै वडाध्यक्ष आचार्यले भने, ‘हामी बोल्ने मात्रै भन्दा पनि एक्सनमा उत्रन जरुरी छ । युवाहरुको यसप्रकारको सहयोगको भावनालाई म सेलुट गर्दछु ।’
सहयोग हस्तान्तरणका क्रममा बोल्दै पोखरा २१ कोभिड १९ सहयोग उपसमितिका संयोजक अर्जुन गिरीले सहयोगका लागि धन्यवाद दिए । कोभिड महामारीको घडीमा यसप्रकारको सहयोग अति आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पोखरा ३० का प्रकाश गुरुङ, रोशन भण्डारी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण पोखरा २१ कोभिड १९ सहयोग उपसमिति सदस्य सिता बिकले गरेकी थिइन् ।
