
कास्की : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्ड कप को २२ औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहनेछ। विगतमा झैँ सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्ने छ।
गोल्ड कपमा हरेक वर्ष मुख्य प्रायोजन गर्दै आएको हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले नै यस वर्ष पनि मुख्य प्रायोजन गर्ने भएको छ। अफिसियल बैङ्क लुम्बिनी विकास बैङ्क, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद्,प्रदेश खेलकुद परिषद् गण्डकी र अखिल नेपाल फुटबल सङ्घ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल सङ्घ, पोखरा महानगरपालिकाको संयोजनमा प्रतियोगिता गर्ने लक्ष्य सहारा क्लबले लिएको छ।
