भारतबाट आएको जंगली हात्तीको आतंक

Share:

बर्दिया : जिल्लाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जंगली हात्तीले आतंक मच्चाएको छ। भारतीय सीमावर्ती जंगलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए।

‘भारतीय सीमावर्ती जंगलबाट दिनहुँजसो आउने जंगली हात्तीले केराखेतमा आतंक मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ’, उनले भने।  भारतीय सीमावर्तीबाट आउने जंगली हात्तीले बर्सेनि चार–पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ।

एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए। यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर–दोहोर गरिरहेका हुन्छन्। गत आवमा दुई जना हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने यस आवको हालसम्म एक जना हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: