किसानले कोदो लगाउनै छाडे

143
0
Share:

तनहुँ :  गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ। जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ। यहाँ उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ। पहाडी क्षेत्रको माथिल्लो भेगमा कोदो खेती गरिँदै आएको छ। कोदोको परिकार स्वास्थ्यको हिसाबले खान उपयुक्त मानिन्छ। कोदोको परिकार स्वास्थ्यवद्र्धक हुने भएकाले जिल्लामा माग बढ्दै आएको तिवारी बताए।

 गत वर्ष छ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय २९ मेट्रिकटन कोदो उत्पादन भएको थियो। कोदो रोप्न र चुट्न झन्झटिलो हुने हुँदा खेती गर्न छाड्ने क्रम बढेको तिवारीले बताए। ‘पाखो बारीमा नै उत्पादन हुने खेती हो। तर बीउ पारेर रोप्न र चुट्ने समस्याले किसानले खेती गर्नै छाड्न थाले। हरेक खेती हुने क्षेत्रको जमिन बाँझिने क्रममा छ’, उनले भने।

 कोदो उत्पादन क्षेत्रको जमिन घट्ने क्रम जारी रहेको उनले बताए। ‘वन्यजन्तुको समस्याले गर्दा गाउँबाट बसाइँसराइ जाने क्रम छ। विशेष गरी पाखो बारीमा खेती गर्ने जमिन बाँझिदै गएको छ। कोदो लगाउन गाह्रो हुँदा पनि समस्या हुने गरेको छ’, तिवारीले भने।

 अहिले घरवास (होमस्टे) सञ्चालन भएका स्थानमा उत्पादन भएकै ठाउँमा कोदो खपत हुने गरेको उनको भनाइ छ। बन्दीपुर, व्यास, भानु, ऋषिङ, घिरिङ, भिमाद, देवघाट र आँबुखैरेनीको पहाडी क्षेत्रको उपल्लो भागमा कोदो खेती हुन्छ। ऋषिङ, घिरिङ, भिमादमा कोदोको बढी उत्पादन हुने गरेको छ। कोदो उत्पादन भएको स्थानमा नै खपत हुने गरेको उनले बताए। केही स्थानमा उत्पादित कोदो बाहिर निर्यात गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

 घरवासमा ढेडो, रोटी तथा पिठोबाट बन्ने विभिन्न परिकारको माग होमस्टेमा समेत बढेकाले पछिल्लो समय कोदोको माग बढ्दै गएको छ भने उत्पादन घट्ने क्रममा रहेको किसान बताउँछन्। पछिल्लो समय जिल्लामा कोदोको माग बढे पनि स्थानीय उत्पादन कम हुँदा अभाव छ। चालु आर्थिक वर्षमा स्थानीय तहसँग समन्वय गरी कोदोलाई रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत विशेष प्राथमिकतामा राखी उत्पादन प्रशोधन र बजारीकरण गरी सहज गराउने उद्देश्य रहेको ज्ञान केन्द्रले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: