
काठमाडौं :निर्वाचन आयोगले बहालवाला दुई जना मन्त्रीलाई जरिवाना गराउने निर्णय गरेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
आचारसंहिता लागू भइसकेपछि शहरी विकासमन्त्री चौधरी बाढी पीडितलाई चामल बाँडेको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नआएको भन्दै आयोगले कारबाही गरेको हो ।
मन्त्री खापुङलाई कर्मचारी सरुवा गरेको भन्दै आयोगले ५ हजार जरिवाना लगाएको हो । उनले वैद्य खानाका डा. श्यामबाबु यादवको सरुवा गरेका थिए ।
आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जना मतदाता छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् ।
