
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बनेका छन् ।
उनी बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । व्यास नगरपालिका–४ तनहुँमा विसं २०२४ मा जन्मिएका श्रेष्ठले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिई २९ हजार पाँच सय मतसहित जित हासिल गरेका छन् । श्रेष्ठले एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गरेका हुन् ।
एकवालले भने १९ हजार चार सय ३९ मत प्राप्त गरे । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र नेकपा (एमाले) मा एमाले प्रवेश गरेका थिए । बाबु केबलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठले २०७४ सालको सङ्घीय संसद्को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
विसं २०३८ मा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटीमा आबद्ध भई विद्यार्थी राजनीति सुरुआत गरेका श्रेष्ठ राजनीतिमा आबद्ध हुनुभन्दा पहिला व्यापार व्यवसायमा थिए । विसं २०५२ मा नेकपा (एमाले)को सदस्य रहेका श्रेष्ठ एमाले तनहुँको सल्लाहकार हुँदै तनहुँ जिल्ला कमिटीमा आबद्ध भएका थिए । व्यापारिक पृष्ठभूमिबाट सक्रिय राजनीतिमा लागेका श्रेष्ठको राजनीतिक आबद्धता भने तीन दशकभन्दा बढी छ । भौतिक पूर्वाधारका क्षेत्रमा संलग्न उनी रेडक्रसलगायतका सामाजिक सङ्घसंस्थामासमेत आबद्ध छन् ।
