विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

Share:

काठमाडौं : यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाएको छ । तीमध्ये सबैभन्दा बढी व्यस्त देखिन्छन्, कतारको एउटा सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को को अति विशिष्ठ पाहुनाको आगमन हुन्छ र उनीहरुलाई के खुवाएर स्वागत गर्ने भन्ने जिम्मा पाउनु भएका विनोद बराल ।

पाँच सय ५० जना भान्छेसहित एक हजार एकसय जना कर्मचारीको नेतृत्व लिएर विनोदले यो विश्वकप सुरु भएदेखि नै विभिन्न विशिष्ठ व्यक्तित्वहरूलाई उनीहरूको मन पर्ने खाना खुवाइसकेका छन् । जसरी फुटबल फाइनल खेलसम्मका लागि संसार तातिरहने छ र अति विशिष्ठ पाहुनाहरूको आगमन बढ्दै जानेछ, त्यस्तै विनोदले नेतृत्व गरेको किचेनको व्यस्तता पनि बढ्दै गएको छ ।

विश्वकप फुटबललाई पहिलोपटक आयोजना गर्ने अवसर पाएको खाडी मुलुक कतारले यो मौकालाई फुटबलमा मात्र सीमित गरेको छैन । कतारले यो प्रतियोगितालाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ । कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ठ पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् उनै एक नेपाली विनोद । 

लण्डनमा कार्यरत नेपाली सेफ र खाद्य अनुसन्धानकर्ता विनोदले नेतृत्व गरेको टोलीले विश्वकपको अहिलेसम्मको खेलमा टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यानदेखि फुटबलका बेताज बादशाह डेभिड वेकमसम्मलाई खाना खुवाई सकेको छ । यो टोलीले आगामी पुस ३ गते हुने फाइनल खेलसम्म अनेकन विशिष्ठ तथा अति विशिष्ठ व्यक्तित्वहरूलाई खाना खुवाउने छ । 

विश्वकपका विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई के खुवाउने भन्ने मेनु (परिकारहरूको सूची) तयार गर्नका लागि विनोद र उनको टोली दुई महिना अगाडि नै कतार पुगेको थियो । “हामीले कतारमा सबैभन्दा मन पराइएको र सबैभन्दा धेरैपटक खाइने परिकारका बारेमा अनुसन्धान गर्यौं । त्यसबाट हामीलाई यहाँको खानपानका बारेमा धेरै ज्ञान भयो । अनि हामीले तीन वटा खानाको वरपर बसेर मेनु बनाउने भयो । पहिलो कतारका परिकारहरू, यहाँ सबैभन्दा रूचाइने भारतीय उपमहाद्विपका खाना तथा अन्तर्राष्ट्रिय खेल भएकाले पश्चिमी मुलुकका खानाहरूका आधारमा परिकारको मेनु बनायौँ ”, उनले भने।

पोखरामा जन्मिएका विनोद औपचारिक शिक्षा लिएर यो पेशामा अन्तर्राष्ट्रिय रूपमा नै माथिल्लो तहमा पुग्ने थोरै नेपालीमध्येमा पर्छन् । उनी अहिले अष्ट्रियाको इभेन्ट म्यानेजमेन्टसम्बन्धी मल्टिनेशनल कम्पनी गोर्मेट इन्टरटेन्टमेन्ट ग्रुप (डिएण्डको इन्टनेशनल) को रिसर्च एण्ड डेभेलपमेन्ट तथा इनोभेसन किचेन डिपार्टेमन्टको प्रमुख छन् । यो कम्पनीले नै विश्वकप फुटबल प्रतियोगिताका लागि खानासम्बन्धी अनुसन्धान गर्ने, मेनु तयार गर्ने र विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई खाना क्याटरिङ गर्ने काम पाएको छ । डिएण्डको वेवसाइट धधध।मयअय।अयm का अनुसार यो कम्पनीले ७६ वटा एयरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्जमा क्याटरिङको काम गर्दै आएको छ ।

विनोद भन्छन्, “विश्वकप फुटबल २०२२ को पार्टनर कतार एयरलाइन्समा हाम्रो कम्पनीकै क्याटरिङ हुन्छ । त्यही नाताले हामी विश्वकप फुटबलसँग जोडिएका हौँ ।’’ कतारमा खाना र परिकारका बारेमा प्रारम्भिक अनुसन्धानपछि विनोदको टोलीले कतारको खानाका बारेमा त्यहाँको सबैभन्दा सम्मानित सेफ आइसा अल तमिमिसँग औपचारिक तालीम समेत लिएको थियो । यसले आफ्नो आधिकारिक स्वादलाई प्रवद्र्धन गर्ने काममा कतार सरकार कति गम्भीर छ भन्ने पनि देखाउँछ । यो तालीमबाट विनोदको टोलीलाई पनि कतारको आधिकारिक स्वाद आफ्ना परिकारको अनुसन्धानमा जोडन सजिलो भयो ।

उनी भन्छन्, “अनि हामी विभिन्न परिकारहरूको तयारीमा लाग्यौँ । यसमा खानाको तयारी, त्यसको विकास, त्यसको स्वाद तथा परिकारको प्रस्तुतीकरण एवम् परीक्षणका कुराहरू समावेश हुन्छ । एउटा कार्यशालाका मार्फतबाट हामी स्वाद तथा परिकारको प्रस्तुतीकरणका विषयमा विभिन्न विशेषज्ञबाट प्रतिक्रिया पनि लिन्छौँ ।’’

कतार सरकार तथा विश्वकपका अधिकारीहरूले विनोदको टोलीले तयार गरेका खानाको गुणस्तर तथा स्वाद हेरेर÷चाखेर स्वीकृति दिएपछि मात्र खानाको मेनु तयार भएको थियो । उनी भन्छन्, “होस्ट कन्ट्री (आतिथ्यता गर्ने राष्ट्र) भएका नाताले आफ्नो खाना तथा स्वादसँगै स्थानीय तरकारी, मरमसला तथा मासुलगायतका उत्पादनको प्रवद्र्धन गर्ने कतार सरकारको चाहनालाई पनि यहाँ परिकारहरू तयार गर्दा हामीले सम्मान गरेका छौँ ।’’

फुटबलको खेल हेर्न आउने विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूका बारेमा उहाँको टोलीलाई पहिले नै सूचित गरिन्छ । त्यही सूचनाका आधारमा खाना तयार गरिन्छ ।  स्थानीय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै तापक्रम कम बनाइएको गाडीमा राखेर खानालाई स्टेडियममा पुर्‍याउने गरिन्छ । उनका अनुसार जुन दिन जुन देशको खेल हुन्छ ती देशका एक÷एक परिकार अनिवार्य समावेश गरिन्छ । उदाहरणका लागि बेलायतको खेल हुँदैछ भने त्यहाँको सबैभन्दा प्रिय खाना फिस एण्ड चिप्स (माछा र तारेको आलु) तयार गर्छौ । मोरोक्कोले खेलेको दिन ताजिन र खुसखुस बनाएको उनले सुनाए ।

चिसो बनाइएको भ्यानमा खाना स्टेडियममा पुर्‍याएर सुरक्षा जाँचको काम सकिएपछि टोलीले पाहुनालाई खाना दिने गर्दछ । उनी भन्छन्, ‘‘साउदी अरेबियाको राजपरिवार, टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, भारतका उपराष्ट्रपति जगदिप धनकर, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यान, प्रख्यात फुटबलर डेभिड वेकम, आर्सनल क्लबका म्यानेजर आर्सी वाग्नरलगायतका विशिष्ठ व्यक्तिहरूले हामीले तयार गरेको खानाको उच्च प्रशंसा पनि गरेका थिए ।’’ 

विनोदको ज्ञानका कारण उहाँलाई अन्तर्राष्ट्रिय परिकारको दुनियामा ‘मसला पण्डित’ भनेर पनि चिनिन्छ । अनि खानपान बाहेकका क्षेत्रमा गरेका विभिन्न योगदानका कारण सेफभन्दा अलि धेरै काम गर्ने मानिसका रूपमा पनि बिनोदको परिचय बनेको छ । यो क्षेत्रमा २० वर्षभन्दा बढी काम गर्दा उहाँले नेपाली परिकारलाई विश्व मानचित्रमा स्थापित गर्ने अनेक काम गरेका छन् । विनोदले लण्डनमा खोल्नु भएको रेष्टुरेन्ट मःमः एण्ड रोटी पनि हो । नेपाली खाना भारतीय खानाभन्दा धेरै फरक हो भनेर अभियान चलाउने विनोद कतारमा विश्वकप फुटबल हेर्न आउने संसारका विशिष्ठ व्यक्तित्वहरूलाई खाना चखाएर खाना कुटनीति अनुभव लिँदै छद ।

विनोद भन्छन्, “खानाले मानिस संस्कृति र देशहरू जोड्ने काम गर्छ । म नेपाललाई र वेलायत तथा दुनियाँका अन्य देशहरूसँग खाना, संस्कृति तथा परोपकारका कर्महरूका आधारमा जोड्न चाहन्छु ।” यो विश्वकप र यस्ता अन्य कार्यक्रममार्फत विनोदले चलाएको खाना कूटनीतिले नेपालको छविलाई विश्व मानचित्रमा अझै माथि उठाउन बल पुग्ने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: