
बागलुङ : यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालार्ई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरेको हो ।
सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष तथा निर्वतमान सांसद मनकुमारी केसी र संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले थापालार्ई नगद २५ हजारसहित सम्मान गरेका हुन् ।
कलाकारितामा दुई दशकदेखि निरन्तर साधनारत रही नेपाली मौलिक लोक संगीतको जगेर्ना र विकासमा गायक थापाले पुर्याउनुभएको योगदान अतुलनीय रहेको भन्दै सम्मानित गरिएको अध्यक्ष जिसीले बताइन् । गायक थापाको सालकोपात टपरी हुने नहुने सल्लेको, खेतमा बोके झार, लोभी आँखा, बस्यो माया नबोली नबोलीलगायत चर्चित गीतमा आवाज तथा संगीत दिइसकेका छन् । नको भर्खरै मात्र सार्वजनिक भएको गीत ‘हुन्छ भन’ भन्ने गीत युट्युबको ट्रेन्डिङमा छ ।
यस्तै सिर्जनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारीका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशिको हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील कँडेल रेडियो नेपाल, धौलागिरि एफएम र धौलागिरि टेलिभिजनमा समेत कार्यरत छिन् ।
समाजमा विद्यमान भड्किलो विवाहविरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षयकोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । अहिले उक्त कोषको राशि एक लाख पुर्याइएको छ ।
