तपाईं दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? सावधान, कारबाहीमा पर्नुहोला

Share:

भक्तपुर : तपाईं आफ्नो सवारीसाधन सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ ? भाडाका सवारीसाधन हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईं ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला ।

कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका चारवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति भक्तपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीका प्रतिनिधि एवं सरोकारवाला सम्मिलित बृहत् बैठकले भाडाका सवारीसाधनलाई बायाँ लेनमा मात्रै गुड्न पाउनेसहितको १४ बुँदे निर्णय गरी कार्यान्वयनमा ल्याएको छ । प्रजिअ शर्माले यो निर्णयलाई कार्यान्वयनमा ल्याउँदै भाडाका सवारीसाधनलाई बायाँतर्फको लेनमा मात्र गुड्न आह्वान गरिएको बताउँदै अटेर गर्ने चालकलाई कारबाही हुने बताइन् ।

भाडाका बस दायाँ लेनबाट हुइँकिएर बायाँ लेनमा प्रवेश गर्दा र जुन पायो त्यही लेन प्रयोग गर्दा दुर्घटना बढेको पाइएपछि नेपालसहित अन्तर्राष्ट्रिय ट्राफिक नियमलाई कार्यान्वयनमा ल्याउँदै दुर्घटना घटाउन यो निर्णय लागू गरिएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: