कमजोर हुने डरका कारण पुरुषले गर्दैनन् परिवार नियोजन, महिला नै अगाडि

Share:

कैलाली : कैलालीमा परिवार नियोजन गर्ने महिलाको संख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय कैलालीले गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको तथ्यांक हेर्दा परिवार नियोजन गर्ने पुरुष भन्दा महिलाको संख्या बढी देखिएको हो ।

कैलालीका नौ स्थानमा सम्पन्न भएको स्थायी बन्ध्याकरण शिविरमा एक सय ६२ जनाले बन्ध्याकरण सेवा लिएका छन् । तीमध्ये एक सय ४९ महिलाले मिनील्याप गरेका छन् भने १३ जनामात्र पुरुषले भ्यासेक्टोमी गरेका छन् ।

गत वर्ष आयोजना भएको शिविरमा दुई सय ३८ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका थिए । जसमा १९ जनामात्र पुरुषले भ्यासेक्टोमी सेवा लिएका थिए । स्वास्थ्य कार्यालय कैलालीले सञ्चालन गरेको शिविरमा सेवा लिन पुरुष न्यून मात्रामा आएका स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले बताए । “हामीले महिलाले भन्दा पुरुषले बन्ध्याकरण गर्न सहज हुन्छ भनेर जति सिकाए पनि बन्ध्याकरण शिविरमा पुरुष सहभागिता बढाउन सकिएको छैन”, उनले भने, “सेवा लिन आएकालाई पनि तपाईँभन्दा तपाईँको श्रीमानलाई बन्ध्याकरण गर्न लगाउनुस् भन्छौँ तर महिलाहरू नै तयार हुनुहुन्न ।”

बन्ध्याकरण गरेमा शारीरिकरूपमा कमजोर भइन्छ, पुरुषले धन कमाउनुपर्छ वा कडा परिश्रम गर्नुपर्ने भएकाले पुरुषहरू बन्ध्याकरण गर्न तयार नभएको चापागाईँ बताउँछन् । “स्वास्थ्य कार्यालयले भ्यासेक्टोमी गर्दा शरीरलाई हानी गर्दैन, जुनसुकै काम गर्न सकिन्छ भनी सचेतना फैलाउने गरेका छौँ”, उनी भन्छन्, “तर समाज र परिवार जति सम्झाए पनि मान्न तयार छैनन् ।”

टीकापुर अस्पतालले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म एक हजार दुई सय ३६ महिलाले अस्थायी साधन प्रयोग गरेका छन् । गत वर्ष आठ सय १६ महिलाले अस्थायी साधन प्रयोग गरेका थिए । महिलाले जन्मान्तरका लागि अस्थायी साधन प्रयोग गरिरहेका बताएका छन् ।

टीकापुरकी रत्ना चौधरीका बर्सेनि तीन सन्तान जन्मिए । पहिलो बच्चा जन्मिएपछि रत्नाले अर्को बच्चा तुरुन्त जन्माउन चाहेकी थिइनन् तर उनको श्रीमानका दवाबथेग्न नसक्दा लगातार तीन सन्तान जन्माउनु परेको गुनासो गरिन । उनले भनिन्, “तेस्रो बच्चा जन्माउँदा अस्पतालमै मिनील्याप गरेर आए । नत्र अहिले फेरि बच्चा जन्माउनुपर्ने थियो ।”

रत्नालाई प्रजनन अधिकार महिलाको पनि हुन्छ भन्ने जानकारी भए पनि कार्यान्वयन हुन नसकेको बताउँछिन् । “बच्चा जन्माउने, नजन्माउने महिलाको अधिकार हुने रहेछ । अचेल अस्पतालमा सेवा लिन गएपछि स्वास्थ्यकर्मीबाट थाहा पाएँ”, उनी भन्छिन् ।

कैलालीकै विना रिमालले पनि आफ्नो इच्छा विपरीत तीन सन्तान जन्माउनु परेको बताउँछिन् । उनले पहिलो बच्चा १६ वर्षको, दोस्रो बच्चा नौ वर्ष भइसकेपछि पुनः अर्को बच्चा जन्माइन् । “यसअघिका बच्चाबीच जन्मान्तर राख्न पनि मैले अस्थायी साधन प्रयोग गरेकी थिए । लामो समयसम्म अस्थायी साधन प्रयोगले स्वास्थ्यमा विभिन्न परिवर्तन आएपछि मैले छोडे”, उनी भन्छिन्, “श्रीमानलाई पटक–पटक बन्ध्याकरण गर्नुस् भन्दा मान्नुभएन, बरु अर्को बच्चा जन्माउने योजना सुनाउन थाल्नुभयो ।”

जिल्लाको तथ्यांक हेर्दा स्थायी र अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने संख्यामा महिला नै बढी छन् । स्वास्थ्य कार्यालयको तथ्यांकमा चालु आर्थिक वर्ष २०७९÷८० मा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने संख्या ५३ हजार पाँच सय ९८ रहेको छ । गत वर्ष २०७८÷७९ मा ४३ हजार सात सय ९८ रहेको थियो ।

 टीकापुर अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक कल्पना खड्का महिलाले अस्थायी साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न खाले असर देखिने गरेको बताउँछिन् । “पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ तर पुरुषहरू महिलालाई नै अगाडि सार्छन्”, खड्काले भनिन्, “परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने विभिन्न स्वास्थ्य समस्या भएका महिला घर फर्कन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउँदैनन् ।”

कमेन्ट गर्नुहोस्
Share: