फेवातालको किनारमा लिटरेचरको माहोल

Share:

कास्की : बुधबारको छिपिँदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए ।

चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने । गायक सागरको ‘तिमी खुसी त छौ नी भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो । सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निशब्द’ सुनाए । उनले अरुण थापाको ‘आँखाको गीत खोसी लाने’, साङ्गीतिक समूह कन्दराको चर्चित गीत ‘तगारोमा रुमाल राखी’, नवीन के भट्टराईको ‘अलिकति पीडा’लगायत गाए ।

सागरले गाउँदा दर्शकले पनि गला मिलाए । तालीले साथ दिए । सागरको गायनपछि पराजुलीले आफ्ना चर्चित कविता सुनाए । लामा कविता पनि कठस्थ र मार्मिक शैलीमा प्रस्तुत गर्ने उनको प्रतिभाले दर्शकदीर्घाबाट वाहीवाही पायो । पराजुलीले ‘उ’, ‘एक्लै’लगायत आफ्ना चर्चित कविता वाचन गरे ।

आयोजक बुकवर्म फाउण्डेशनले फेस्टिभलको औपचारिक उद्घाटनपूर्व ‘शुभारम्भ साँझ’ राखेको हो । उक्त कार्यक्रममा पहिला पुग्ने दस जनालाई पराजुलीको कविता कृति ‘सगरमाथाको गहिराइ’ उपहारस्वरुप प्रदान गरिएको थियो । दसौँ संस्करणको उक्त फेस्टिभल बुधबारदेखि नै सुरु भएपनि औपचारिक उद्घाटन भने बिहीबार दिउँसो हुने आयोजकले जनाएको छ ।

उद्घाटन सँगसँगै काठमाडौँ विश्वविद्यालयका रजिष्टार अच्युत वाग्लेले विद्धत प्रवचन, गोपाज योञ्जनको २५ औँ स्मृतिवर्षको अवसर पारेर साङ्गीतिक प्रस्तुति ‘गोपालय’ र ‘घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल सत्र तय गरिएको छ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने जनाइएको छ ।

फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ । ५० बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजकको भनाइ छ । फेस्टिभलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सीके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइरालासहित विशिष्ट व्यक्तिहरु वक्ताका रुपमा उपस्थित हुनेछन् । पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन् । फेस्टिबलका सदस्य केशवशरण लामिछानेले अतिथि वक्ता र सहभागीहरु पोखरा आउने क्रम सुरु भएको बताए । दस वर्षअघि काठमाडौँबाट सुरु भएको उक्त फेस्टिभल पछिल्ला केही वर्षदेखि पर्यटकीय सहर पोखरामा हुँदै आएको छ ।

कोभिड–१९ का कारण फेस्टिभलको यसअघिको संस्करण रोकिएको थियो । फेस्टिभलमा कला, साहित्यप्रेमीदेखि समसामयिक र सार्वजनिक महत्वका विषयमाथि हुने बहस सुन्न चाहानेहरुको उल्लेख्य उपस्थिति रहने गर्छ । फेस्टिभलको सह–आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: