एजेन्सी नयाँदिल्ली, फागुन १९ / मुख्यमन्त्री बनेको महिना दिन नबित्दै दिल्लीका आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरिवालको पार्टीभित्रै आलोचना सुरु भएको छ। आपका नेता प्रशान्त भूषणले मंगलबार एक टिभी अन्तर्वार्ताका क्रममा केजरिवालले राजनीतिमा केही कुरामा सम्झौता गर्नुपर्ने भन्दै पार्टीका मूल्य र मान्यता छाडेको आरोप लगाए।
केजरिवालमा धेरै गुण हुँदाहुँदै पनि केही कमजोरीसमेत रहेको उनले बताए। प्रशान्त भूषणका अनुसार केजरिवालका मुख्य कमजोरी चाहेअनुसारको निर्णय गर्न नसक्ने र आदर्श र मूल्य मान्यतासँग सम्झौता गर्ने हुन्। भूषणले पार्टीभित्र गम्भीर मुद्दाहरू रहेको र त्यसले पार्टीलाई खतरापूर्ण अवस्थामा पुर्याउने चेतावनी समेत दिएका छन्। दिल्ली विधानसभा चुनावमा उम्मेद्वार छनोटमा समेत पार्टीभित्र धेरैको चित्त नबुझेको बताए।
पार्टीका अर्का नेता योगेन्द्र यादवले पनि केजरिवालको आलोचना गरेका छन्। आप एक व्यक्तिकेन्द्रित पार्टी बन्न लागेको उनको आरोप छ। केही दिनदेखि केजरिवालसँग संवादसमेत बन्द भएको उल्लेख गर्दै भूषणले कुराकानी गरेर समस्या समाधान गर्न चाहेको बताए। टिभीमार्फत् भूषणले आलोचनापछि केजरिवालले त्यसको जवाफ ट्विटमार्फत् दिएका छन्। उनले ट्विट गरेका छन् – पार्टीभित्र बढ्दै गएको विवादले दुखी बनाएको छ। उनले दिल्लीका जनताको भरोसालाई टुट्न नदिने प्रतिबद्धता पनि गरेका व्यक्त छन्।
यादव र भूषणको आलोचनापछि यसबारे छलफल गर्न आपले भोलि पार्टीको राष्ट्रिय बैठक डाकेको छ। तर भूषणले सो बैठकमा उपस्थित हुन नसक्ने बताएका छन्। भूषणले गरेको केजरिवालको सार्वजनिक आलोचनाबाट आपका बहुसंख्यक नेताहरू भने असन्तुष्ट बनेका छन्। चित्त नबुझे पार्टीको बैठकमा कुरा राख्ने विकल्प हुँदाहुँदै मिडियामा आलोचना गरेर सानो कुरालाई ठूलो बनाएको उनीहरूको बुझाइ छ।
नेता सञ्जय सिंहले भूषण र यादवले केजरिवाललाई पार्टी अध्यक्षबाट हटाउन आलोचना गरिरहेको आरोप लगाए। भूषणले भने यादव र आफ्नो केजरीवाललाई अध्यक्षबाट हटाउने कुनै मनसाय नभएको बताउँदै पार्टीभित्रका समस्या हटाउन मात्र पहल गरेको बताएका छन्। भोलिको राष्ट्रिय बैठकले विवादको छिनोफानो गर्ने अपेक्षा गरिएको छ।
