
मन क्षेत्री फागुन १९ पोखरा / गत केही सातादेखि अत्याधिक महङ्गोमा विक्रि वितरण भइरहेको ब्रोइलर कुखुराको मासुको नयाँ मुल्य निर्धारण गरिएको छ । निर्धारित नयाँ मुल्य अनुसार अब ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४०० रुपैंया तय भएको छ । हाल, प्रतिकेजी ४२० देखि ४५० रुपैंयासम्म कारोवार भैरहेको ब्रोइलर कुखुराको मासु अत्याधिक महङ्गो भएको भन्दै उपभोक्ताहरु प्रशासनको शरणमा पुगेपछि सो सम्वन्धि सत्य तथ्य पत्ता लगाई नयाँ मुल्य निर्धारण गर्न पोखरा उप–महानगरपालिका कार्यालयले पहल गरेको थियो ।
पोखरा उप–महानगरपालिका कार्यालयको हलमा सम्पन्न छलफलमा मासु व्यावसायी संघ, उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा उधोग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय कास्की, नगर स्तरिय राजनैतिक दलका प्रतिनिधी लगायत मासु व्यावसायी र उपभोक्ताहरुको उपस्थिती रहेको थियो । पोखरा उप–महानगरपालिका कार्यालयले मासु व्यावसायीहरुले ऐनमा उल्लेख भएका सवै बुँदाहरुको अक्षरस पालना गर्नुपर्ने, नगरपालिकाले लागु गरेको निर्देशिकाहरुको कार्यान्वयन हुनुपर्ने तथा नगरपालिकाले सो सम्वन्धि भए नभएको नियमित अनुगमन र सुपरिवेक्षण गर्ने लगायतका अन्य बुँदाहरु सहितको निर्णय समेत गरेको छ ।
उपभोक्ताहरुले किसानबाट प्रतिकेजी २४० रुपैंया दरमा खरिद गरिएका कुखुराको मासु, सप्लायर्स हुँदै विक्रेताहरुले विक्रीवितरण गर्ने क्रममा आईपुग्दा विभिन्न चरणहरु हुने र प्रत्येक चरणमा प्रतिशतका हिसावले रकम छुट्टीने भएकाले महङ्गोमा खरिद गर्नु परेको बताएका थिए । उनिहरुले किसानकहाँबाट सोझै विक्रेताकहाँ कुखुरा जाने वातावरण बनेको खण्डमा मासु अझै सस्तो पर्ने धारणा राखेका थिए । मासु व्यावसायीहरुले भने सोझै किसानकहाँबाट आफूहरुकहाँ कुखुरा ल्याउन नसकिने तथा त्यसरी कुखुरा राख्ने स्थानको अभाव हुने, फोहर लगायतका अन्य समस्याका कारण घर भाडामा समेत पाउन कठिन हुने भन्दै गुणस्तरिय मासु विक्रीवितरणका लागि हालकै प्रकृया सहि रहेको तर्क प्रस्तुत गरेका थिए ।
किसानले विक्रीवितरण गर्ने कुखुराको मुल्यलाई आधार मानेर उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश वरालले शुरुवातमा प्रतिकेजी ३८० रुपैयाँमा मासु व्यावसायीहरुले मासु विक्रिवितरण गर्नुपर्ने प्रस्ताव अघि सारेका भएपनि सप्लायर्सबाटै व्यावसायीलाई ३७० रुपैयाँ पर्ने भएकाले त्यसरी व्यावशाय सञ्चालन गर्न नसकिने व्यावसायी संघले अडान लिएको थियो । सप्लायर्स वा विक्रेता जस्ले जति कमिसन खाने भएपनि उपभोक्ताहरुले सुपथ मुल्यमा मासु किन्न पाउनुपर्ने माग राख्दै उपभोक्ताहरुले अडान लिएपछि छलफल लम्विएको भएपनि अन्तत ः हालको अवस्थामा ४०० रुपैया प्रतिकेजी मुल्य निर्धारण गर्दै छलफल टुङ्गीएको थियो । हालको मुल्यमा पुन ः फेरबदल गर्नुपर्ने भएमा सरोकारवालहरुको अर्को भेला आयोजना गरि छलफल मार्फत टुङ्गो लगाइने विषयमा पनि सहमति भएको छ । यस्तै, सरोकारवालाहरुलाई आमन्त्रण गरेर फोहरमैलाको वर्तमान अवस्था, चुनौती र व्यवस्थापन विषयक अन्र्तक्रिया कार्यक्रम पनि नगरपालिकाले सम्पन्न गरेको छ ।
