दुर्गम गाउँमा रंगशाला बन्दै

Share:

बागलुङ :  तमान गाउँको बीचमा पहिले सानो खेलमैदान थियो । गाउँलेले त्यसलाई रंगशाला निर्माण गर्न सक्रियता देखाए । सुरु–सुरुमा पालिका तथा प्रदेश सरकारबाट बजेट पनि पर्‍यो । अहिले कुनै पनि निकायबाट बजेटको व्यवस्था हुन सकेको छैन । ‘तमान रंगशाला’ निर्माण थालेको आधा दशक भयो । अहिलेसम्म रंगशाला निर्माणले पूर्णता पाउन सकेको छैन ।

तमानखोला गाउँपालिका–३ तमानगाउँमा निर्माणाधीन ‘तमान रंगशाला’ को कार्य प्रगति ५० प्रतिशतभन्दा माथि जान सकेको छैन । गाउँपालिकाले खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि रंगशाला निर्माण अगाडि सारे पनि यस वर्ष बजेट शून्य छ । पहिले विद्यार्थीहरू खेल्ने साँघुरो चौरलाई स्थानीयवासीको सक्रियतामा सम्याएर खेल मैदानको स्वरुपमा ल्याएको स्थानीय भेषबहादुर पुनले बताए ।

उनले पहिले यो ठाउँ जलमग्न रहेको र यसलाई गाउँलेहरूले जनश्रमदान गरेर खेल मैदानका रुपमा विकास गरेको बताए । पुन भन्छन्, “यो ठाउँमा पानी जम्थ्यो, पछि यसलाई हामीले सम्याएर सानो मैदान बनाएका थियौँ, अहिले डोजर लगाएर यति ठूलो भयो, राम्रो पनि भयो, अब त केटाकेटीहरू पनि रमाएर खेल्न पाउनेछन्, कतै लोट्ला भन्ने डर पनि भएन, मेला महोत्सव गर्दा पनि सजिलो हुने भयो ।”

लामो समयदेखि खेलमैदानका लागि जनश्रमदान गरेको भन्दै आफूहरूले गरेको दुःखको प्रतिफल बिस्तारै यहाँका युवा तथा खेलाडीहरूले पाउने अपेक्षा लिएको उनले बताए । स्थानीयवासीको अधिक जनश्रमदान र गाउँपालिका, प्रदेश सरकार तथा केन्द्र सरकारसँगको सहकार्यमा रंगशाला निर्माण हुने आश्वासन पाएको उनको भनाइ छ ।

स्थानीय भीमबहादुर मगरले गाउँपालिकाले रंगशाला निर्माण गर्न थालेपछि बालबालिका र खेलाडीलाई खेल खेल्न सजिलो हुने बताए ।

“यो गाउँमा खेलेर हुर्केका खेलाडी अहिले राष्ट्रिय स्तरमै नाम कमाउन सफल भएका छन्, उनीहरूले उतिबेला राम्रो खेलमैदानमा खेल्ने अवसर पाएनन्, खेल क्षेत्रमा राज्यको लगानी पनि खासै भएको थिएन, अहिले यस्तो विकट गाउँमा पनि रंगशाला बन्नु हाम्रो लागि गौरवको कुरा हो”, उनले भने ।

उनले खेलमैदान अभावका कारण यहाँबाट धेरै खेलाडी राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा भाग लिन नसकेको भन्दै रंगशाला निर्माणपछि तमानखोलालगायत सिङ्गो बागलुङका खेलाडीलाई ठूलो अवसर प्राप्त हुने बताए ।

खेल क्षेत्रबाट पनि तमानखोलालाई समृद्धितर्फ लैजान सकिने हुँदा रंगशाला निर्माणलाई जोड दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।  उनले स्थानीयले निर्माण गरेको सानो खेलमैदानलाई रंगशालामा रुपान्तरण गर्न थालेको केही समयमै आधा काम पूरा भइसकेको भन्दै प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम पूरा गर्ने बताए ।

“यो रंगशाला गाउँपालिकाको गौरवको योजनाअन्तर्गत पर्छ, यहाँ स्थानीयले धेरै समय जनश्रमदान गरेर यति ठूलो मैदान बनेको छ, पहिले सानो–सानो मैदान थियो, यसलाई बढाएर यति ठूलो बनाउने काम स्थानीयहरूबाट भएको हो”, अध्यक्ष बुढा मगरले भने, “गाउँपालिकाले पनि केही बजेट विनियोजन गरेर अहिले सम्याउने काम भएको छ, यसमा अझ धेरै काम गर्नु बाँकी छ ।”

अध्यक्ष बुढा मगरले रंगशाला निर्माण गर्न अहिलेसम्म गाउँपालिका र गण्डकी प्रदेश सरकारको ६० लाख खर्च भइसकेको जानकारी दिए ।

तीन वर्षअगाडि गाउँपालिकाले दुई करोडको गुरुयोजना तयार गरेको उनको भनाइ छ । गाउँपालिकासँग पर्याप्त बजेट नभएको भन्दै सङ्घ र प्रदेशसँग सहकार्य गरेर पूरा गर्ने अध्यक्ष बुढामगरले बताए । रंगशालामा प्याराफिट निर्माण, घेराबार र सम्याउने काम पूरा हुन सकेको छैन ।

म्याग्दीसँग सिमाना र सडक सञ्जालले जोडिएको हुँदा म्याग्दीबाट समेत खेलाडी आउने सम्भावना बढी रहेको उनको भनाइ छ । यस ठाउँमा अहिले पनि कुनै मेला महोत्सव लाग्दा म्याग्दीबाट बढी नागरिक आउने गरेको पाइन्छ । त्यस्तै पर्यटकीय क्षेत्र सोले डाँडा पनि नजिकै रहेको हुँदा खेलसँगै पर्यटनसमेत जोडिने उनको भनाइ छ । पालिकाले गाउँलाई पर्यटकीय गन्तव्य बनाइरहेको भन्दै रंगशालाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अध्यक्ष बुढामगरको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: