
द्वन्द्व, दैवी विपत्ति र जलवायु संकटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय (युएनएचसीआर)ले “यो वर्षको जाडो विश्वभरका लाखौं ‘आप्रबासी शरणार्थी’का लागि निकै चुनौतीपूर्ण हुनेछ । हाम्रो विश्वले आन्तरिक विस्थापनको संकटको सामना गरिरहेको छ । द्वन्द्व, विपत्ति र जलवायु संकटजस्ता त्रासदीका कारण विश्वका उच्च संख्यामा मानिस आफ्नो देशभित्र विस्थापित भएका छन्,” भनेको छ,
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत जुनमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय विस्थापनसम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै सहयोगको खाँचो रहेका मानिसलाई सहयोग पुर्याउनु सबैको जिम्मेवारी भएको बताएका थिए । उनले भने, “आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको दुर्दशा मानवीय मुद्दाभन्दा बढी छ । यसले विकास, शान्ति स्थापना, मानव अधिकार, जलवायु कार्य र विपद् जोखिम न्यूनीकरणका प्रयासहरूको संयोजनमा एकीकृत दृष्टिकोण ल्याउँछ ।”
सन् २०२२ मा मात्र एक करोड व्यक्ति विस्थापित
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसीआर)ले सन् २०२२ मा विश्वका एक करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको मंगलबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसंघले विभिन्न तरिकाले खाँचोमा परेकालाई सहयोग गरिरहेको पनि उक्त निकायले जनाएको छ ।
युएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले यो आँकडालाई कहिल्यै स्थापित हुननहुने संख्या भनेका छन् ।
यो संख्या सन् २०२१ मा नौ करोड रहेकोमा यस बर्ष १० करोड पुगेको छ । युक्रेन, इथियोपिया, बुर्किना फासो, सिरिया र म्यान्मारलगायत विश्वका धेरै भागहरूमा हिंसा, गरिबी र लामो द्वन्द्व आप्रवासन प्रमुख कारकहरू थिए ।
संयुक्त राष्ट्रसंघीय निकायले भनेको छ, “हजारौं हताश आप्रवासीहरूले युरोपलाई आफ्नो रोजाइको गन्तव्यको रूपमा हेरेका छन्, मानव तस्करहरूको हातमा आफ्नो जीवन थमाएका छन् र भूमध्यसागर पार गर्नेगरी खतरनाक यात्रामा निस्केका छन् ।”
यमनमा लामो द्वन्द्व सुरु भएको सात वर्ष भन्दा बढी भइसकेको छ, जसले मानवीय विपत्ति निम्त्याएको छ र ४३ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ ।
गत मे महिनामा संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सी आईओएम र युरोपेली संघको मानवीय सहायता शाखा इकोले द्वन्द्वका कारण विस्थापित भएका तीन लाख २५ हजारभन्दा बढी आप्रवासी र उनीहरूलाई आश्रय दिने समुदायको आवश्यकता पूरा गर्ने प्रयासलाई तीव्रता दिने घोषणा गरेको थियो । यमनस्थित आईओएम अभियानकी प्रमुख क्रिस्टा रोटेनस्टाइनरले भने, “यमनमा आप्रवासीहरू र विशेष गरी महिलाहरूको लागि स्थिति अझ खराब हुँदै गइरहेको छ । उनीहरूले यमनमा आफ्नो जीवनमाथि थोरै नियन्त्रणको साथ गम्भीर अवस्थामा बाँचिरहेका छन् ।”
सिरियामा युद्धले ११ वर्षदेखि जनजीवन अस्तव्यस्त बनाइरहेको छ । सिरियामा जन्मिएका करिब ५० लाख बालबालिकाले कहिल्यै पनि देशलाई शान्तिपूर्वक चिनेका छैनन् । झण्डै ८० हजार भन्दा बढी सिरियालीहरूले जोर्डनको विशाल जातारी शिविरलाई ‘घर’ भन्छन् र तिनीहरूमध्ये धेरैले तत्कालका लागि आफ्नो देश बाहिर बस्नुपर्ने हुन सक्छ । जोर्डनको राजधानी अम्मानमा युएनएचसीआरका प्रतिनिधि डोमिनिक बार्ट्सले हालै बताए अनुसार तत्कालका लागि उनीहरूको स्वदेश फिर्तीको सम्भावना आशाजनक देखिँदैन ।
उनले भने, “हामीले सिरियामा स्वदेश फिर्तीका लागि अनुकूल वातावरण देखिरहेका छैनौं ।” समग्रमा, जोर्डनले सिरियाबाट लगभग छ लाख ७५ हजार दर्ता भएका शरणार्थीहरूलाई आश्रय दिन्छ, र तिनीहरूमध्ये अधिकांश स्थानीय समुदायहरूको बीचमा जोर्डनको शहर र गाउँहरूमा बस्छन् । केवल १७ प्रतिशत मात्र दुई मुख्य शरणार्थी शिविरहरू, जातारी र अजराकमा बस्छन् ।
पाँच वर्षअघि म्यानमारमा हजारौं रोहिङ्ग्याहरू आफ्नो घर छोडेर भागेका थिए । छिमेकी देश बङ्गलादेशको सीमापारी रहेको विशाल कक्स बजार शिविरमा करिब १० लाख शरणार्थी बस्छन् । यसै बर्षको मार्चमा, संयुक्त राष्ट्रसंघले शरणार्थीलाई घर फर्काउने आफ्नो नवीनतम योजना सुरु गरेको थियो । शरणार्थी र छिमेकी समुदायहरू ९पाँच लाखभन्दा बढी बङ्गलादेशीहरू० को लागि ८८ करोड १० लाख अमेरिकी डलर भन्दा बढीको लागि आह्वान गरेको थियो । यो सहायतामा अत्यधिक निर्भर छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको तथ्याङ्कअनुसार डिसेम्बरसम्ममा युरोपभरि ७८ लाखभन्दा बढी युक्रेनी शरणार्थी रहेका छन् ।
सन् २०२० को नोभेम्बरमा सुरु भएको इथियोपियाको टिग्रे क्षेत्रमा सशस्त्र द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भएका छन् । यस वर्षको अन्त्यसम्ममा, अन्तर्राष्ट्रिय मध्यस्थतामा एक नाजुक युद्धविराम कायम भएको जस्तो देखिन्थ्यो र महिनौंसम्म दुर्गम उत्तरी क्षेत्रहरूमा सहायता फिर्ता भइरहेको थियो । साथै धेरै जना आफ्नो बिग्रिएको जीवनको पुनर्निर्माण गर्न घर फर्केका थिए ।
शिविरमा पनि सुरक्षित छैनन् शरणार्थी
गत जनवरीमा संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले यस क्षेत्रका शरणार्थीहरूले पर्याप्त खाद्यान्न, औषधि र स्वच्छ पानी पाउन संघर्ष गरिरहेको र स्थितिमा सुधार नआए मृत्युको जोखिम रहेको चेतावनी दिएको थियो ।
राष्ट्रसंघद्वारा सम्प्रेषितसमाचार अनुसार शरणार्थीहरू पनि प्रत्यक्ष आक्रमणमा परेका छन् । उदाहरणका लागि, फेब्रुअरीमा सशस्त्र मानिसहरूले आक्रमण गरेपछि हजारौं इरिट्रियालीहरू अफार क्षेत्रको एउटा शिविरबाट भाग्न बाध्य भएका थिए ।
उनीहरूले शरणार्थी शिविरबाट सामानहरू चोरेका र त्यहाँका बासिन्दाहरूको हत्या गरेका समेत बताइएको छ । अगष्टसम्ममा संयुक्त राष्ट्रसंघीय निकायहरूले इथियोपियामा शरण लिन चाहने सात लाख ५० हजारभन्दा बढी मानिसहरूलाई सहयोग गर्न तत्काल आर्थिक सहयोगका लागि अपिल गरेका थिए । विश्व खाद्य कार्यक्रमले उक्त रकम प्राप्त नगरेसम्म धेरै शरणार्थीले खानका लागि केही नपाउने चेतावनी दिएको छ ।
यूएनएचसीआरका अनुसार युद्ध, हिंसा र मानव अधिकार उल्लघंनका कारण विस्थापित भएकाहरूलाई बाँच्ने आधार प्रदान गर्न विश्वभरका सरकारहरूले अत्यधिक रकम ९करिब १।१३ अर्ब अमेरिकी डलर० उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
ग्रान्डीले भने, “द्वन्द्व, जलवायु आपतकालीन अवस्था र अन्य संकटका कारण विश्वभरका विस्थापित मानिसहरूले अभूतपूर्व आवश्यकताको सामना गरिरहेका छन् । सौभाग्यवश, यूएनएचसीआरका उदार दाताहरूले यी संकटपूर्ण दिनहरूमा उनीहरूलाई सहयोग जारी राखेका छन्, जसले उनीहरूको सहज भविष्यको आशा जगाएको छ।”
