
रञ्जन अधिकारी पोखरा, २२ फागुन /नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विमति राखेरै भएपनि संविधान जारी गर्न दिन एमाओवादीलाई आग्रह गरेका छन् । सहमतिमा जुट्न हुने ढिलाइले संविधानसभा निरर्थक हुने खतरा बढेको भन्दै उनले सहमति नहुने बुदाँमा विमति लेखेरै भएपनि अघि बढ्नुको उत्तम विकल्प नभएको बताए ।
प्रेस चौतारी गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले दलिय असहमतिको कारण संविधानको काम रोकिएको र यसकै कारण दोस्रो संविधानसभा पनि मुल लक्ष्यबाट पर रहने अवस्था आउन खतरा औंल्याए । ‘एक वर्ष सहमतिकै नाममा गुज्रिएको होईन ? अझै कति लम्बाईरहने ?’ उनले भने– सहमति हुँदै गर्छ,संविधान निर्माण प्रक्रिया अघि बढिरहन्छ । आन्दोलनमा गएर संविधान बन्दैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अबको समयसहमतिमा अघि बढेर संविधान टुंगो लगाई आर्थिक एजेण्डामा प्रवेश गर्नुपर्ने बताए । माघ ८ को निर्धारित समयसीमा गुज्रिएपछि एमाओवादी अध्यक्ष दाहालकै सल्लाहमा जेठ १५ लाई संविधान घोषणाको मिति मानेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
उनले एमालेले सरकारबाट बाहिरिने र सरकार परिवर्तनको कुरा नभएको बताउदैँ राज्य पुर्नसंरचनाका सवालमा रहेका केही असहमतिमा आ—आफ्नो विमति राखेरै भएपनि अघि बढ्नुपर्ने आफ्नो दलको जोड रहेको बताए । मुल कार्यदिशाबाट संविधानसभा सुस्त हुदाँ धर्म निरपेक्षता र संघीयतामाथि नै समायानुकुल भए नभएको बहसले जन्म लिने अवस्था आउने उनको भनाई थियो ।
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चा वार्तामा आउन लाग्नु स्वागत योग्य भएपनि आन्दोलनलाई साथै लैजाने घोषणालाई उनले दाहालको बाध्यता भन्दै कटाक्ष गर्नुभयो । ‘यो दलिय गठबन्धन भनेको चक्रव्यूजस्तो हो । एउटा न एउटाको मत फरक रहन्छ’ उनले भने– प्रचण्डजी पनि चक्रव्यूमा पर्नु भएको छ । उहाँ अभिमन्युजस्तो बन्नु हुन्छ की के गर्नुहुन्छ त्यो उहाँको कुरा हो । त्यसैले वार्तासँगै आन्दोलनमा जाने कुरालाई नकार्न नसक्नु भएको होला ।’’
दोस्रो संविधानसभाले आफ्नो कार्यतालिकालाई गति दिन नसक्दा प्रतिक्रियावादी सल्बलाउन थालेको भन्दै उनले नेताहरुले सहमति बनाउन कुनै हालतमा ढिला गर्न नहुने बताए । जहाँसम्म राजासँग सहमति भएको भनेर खबरहरु आएका छन्, त्यो हुदैँ होइन, उनले भने– कुनै सहमति भएको छैन । राजतन्त्र हटेका मुलुकमा सजिलै फेरि पुर्नस्थापना नभएको इतिहास हेर्न आग्रह गर्दै उनले भने— ‘केहीलाई फ्रान्समा जस्तो फेरि राजतन्त्र आउला भन्ने लाग्दा तर त्यो कुनै हालतमा सम्भव छैन । एमाओवादी अध्यक्ष दाहालले आफूहरु जातिय राज्यको पक्षमा नभएको बताएपछि अब कसैले पनि भ्रममा पर्न नहुने भन्दै नेता नेपालले भने– ‘पोखरामा आएर पनि उहाँले तमुवानको नाम लिनुभएन । तर, जुन जति जहाँ छ उसले जातिय भाषा, संस्कृतिमाथिको अधिकार सुरक्षित गरिनुपर्छ । जातिय राज्यको नारा होइन सबै जातजातिले देश आफ्नो हो भन्ने अनुभव गरेर बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ । ’’
अर्को एक प्रसङ्गमा उनले दाहालले सार्वजनिक स्थानमा आफूलाई सुरक्षा खतरा भएको भनाई राखेकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । आफूले यो विषयमा गृहमन्त्री वामदेव गौतम र प्रधानमन्भी सुशील कोइरालालाई गम्भीरतापूर्वक लिन भनिसकेको खुलाए । नेपालले ठट्यौली पारामा भने ‘प्रचण्डजीले आफूलाई सुरक्षा खतरा भएको पब्लिकली भनिरहनु भएको छ । त्यो कहाँबाट भएको खतरा हो ? फेसबुकमा कसैले लेख्यो की, भाइबरमा आयो की ? उहाँलाई सपनामा आयो ? यो कुरा सरकारले छानविन गर्नुपर्छ ।’’
उनले जीवित पार्टीमा फरक मत रहने गरेको बताउँदै पार्टी उपमहासचिव घनश्याम भुषालले फरक मत राख्नुलाई अन्यथा मान्न नहुने बताए । अर्को पक्ष पेलेरै जाने मनस्थितिमा रहेकाले त्यसको विरोध गर्नुपर्ने बताए ।
प्रेस चौतारी गण्डकीका अध्यक्ष हरि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुरेन्द्र पौडेलले गरेका थिए ।
