पोखरा, २२ फागुन । ‘बेकन प्रिमियर बेस्ट भ्यालेन्टाईन कपल’ तेस्रो सिजनको विजेता जोडीहरु पुरस्कृत भएका छन् । सर्वोत्कृष्ट एक जोडी र उत्कृष्ट ९ जोडीलाई विग एफएम र बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनले सँयुक्त रुपमा पुरस्कृत गरेको हो ।
भ्यालेन्टाईनको अवसरमा करिब १० दिनसम्म चलेको ईभेन्टमा यदुनाथ बञ्जरा र पारिजात खरालको जोडी सर्वोत्कृष्ट बनेको थियो । युवा ज्योतिष हरिहर अधिकारीले ज्योतिषशास्त्र अनुसार लभ केमेस्ट्रि मिलेको जोडीलाई सर्वोत्कृष्ट घोषणा गरेका थिए । सर्वोत्कृष्ट जोडीले १५ हजार रुपैयाँ सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । त्यस्तै ९ जोडीले नगद १ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।
पुरस्कार प्राप्त गरिसकेपछि सर्वोत्कृष्ट जोडी बन्न सफल बञ्जरा र खरालले खुशि व्यक्त गरे । उनीहरुको जोडीले पुरस्कार स्वरुप पाएको रकम पत्रकार महासंघ कास्की, चितवनको शिव दुर्गा मन्दिर र पोखरा वृद्धाश्रमलाई सहयोग दिने बताएको छ । ‘हाम्रो जोडी सर्वोत्कृष्ट बन्दा निकै खुशि छौँ ।’ बञ्जराले भने–‘यस्तो खालको वातावरण मिलाईदिएकोमा विग एफएमप्रति हामी निकै आभारी छौँ ।’ बञ्जरा सराङकोट साप्ताहिकका सम्पादक समेत हुन् ।
त्यस्तै पुरस्कृत हुने ९ उत्कृष्ट जोडीहरुमा भुपेन्द्र र सुस्मा, जस्मिन र दर्शन, सन्दिप र स्मिना, सम्झना र मनिराज, सनम र मिलन, साजन र आहना, गीता र जितेन्द्र, लेखनथा र लिला तथा विशेष र दर्शनको जोडी रहेको छ । पुरस्कृत भैसकेपछि उनीहरुले पनि खुशि व्यक्त गरे ।
पुरस्कार वितरण समारोहमा विग एफएमका अध्यक्ष महेश भण्डारीले ईभेन्टमा सहभागिता जनाएका सम्पूर्ण जोडीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि यस्तै खालको सहभागिता स्रोताहरुबाट एफएमले चाहेको बताए । त्यस्तै विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले स्रोताहरुसँग नजिकिने वहानाले नै विग एफएमले विशेष अवसरहरुमा फरक शैलीका ईभेन्ट गर्दै आएको बताए । उनले ईभेन्टमा सहभागिता जनाएर स्रोताहरुले गरेको सहयोग र आर्थिक सहयोग गरेर व्यवसायीक साथ दिएको बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै भ्यालेन्टाईन कपलको मुख्य प्रायोजक बेकन प्रिमियर ईन्टरनेशनल कलेजको तर्फबाट प्रबन्ध निर्देशक रुद्रप्रसाद अर्यालले विग एफएमप्रति आभार व्यक्त गरे । ईभेन्टमार्फत बेकनको प्रचारप्रसारमा सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायिक साझेदारीलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । त्यो सँगै विजेताहरुले वैदेशिक अध्ययनमा जान चाहने आफ्ना आफन्तहरुलाई परामर्श चाहिएको बेलामा रिफर गरेको खण्डमा तीन जनालाई पचास प्रतिशत छुट दिने उनले बताए । बेकनका अनुसार १० जोडीका ३० जना आफन्तहरुले यो सुविधा पाउनेछन् ।
