चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

Share:

काठमाडौं :  चालु आर्थिक वर्ष २०७९ को मंसिर मसान्तसम्म चालु खाता घाटा करिब ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा छ । गत आवको समीक्षा अवधिमा चालु खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा  थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५ दशमलव तीन प्रतिशतले कमी आई तीन अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू सात अर्ब सात करोड रहेको थियो ।

     राष्ट्र बैंकका अनुसार गत मंसिर मसान्तसम्ममा शोधनान्तर स्थिति  ५ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्बले घाटामा थियो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पाँच महिना अवधिमा छ दशमलव तीन प्रतिशतले बढेर मंसिर मसान्तसम्ममा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ ।

गत मंसिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: