कुख्यात डाँकुबाट राजऋषि बनेका पञ्चमसिंह शान्तिको सन्देश बाँड्दै नेपालमा

481
0
Share:

रञ्जन अधिकारी पोखरा, २८ फागुन / चार दशकअघि सिंगो भारतको खतरनाक डाँकुका रुपमा कुख्यात थिए पञ्चमसिंह चौहान । त्यो समयमै पञ्चमसिंह बारे सूचना दिनेलाई नै ईन्दिरा गान्धी सरकारले एक करोड भारु दिने घोषणा नै गरेको थियो । पाँच सय ५० जना सशस्त्र समूहका नाईके डाँकू पञ्चमसिंहले दुई सय बढिको हत्या नै गरेको हाक्काहाक्की सुनाउँछन् । तर, अब यो परिचय उनको रहेन । उनले पछि फुलनदेवी जस्तालाई आत्मसमर्पण गराएर, चम्बलघाँटी (उत्तरप्रदेश, मध्यप्रदेश र राजस्थान संगम) मा अहिलेसम्म कुनै डाँकु उत्पन्न हुन दिएका छैनन् । परिस्थितिले डाँकु बनेको ठान्ने उनी ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ज्ञान र राजयोग अभ्यासले राजऋषि बनेको स्पष्ट पार्छन् ।

कुख्यात डाँकु अहिले विश्वविख्यात राजऋषि ब्रह्माकुमार पञ्चमसिंह बनेर नेपाल आएको महिना बित्यो । होचो कदका पञ्चम सिंह सोमबार दिउँसो ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नयाँबजारको सभाहलमा भेटिदाँ ५० वर्ष अघिको डाँकुको भेषमा होईन, ९२ वर्षको उमेरमा पनि फुर्तिलो, शान्त र हँसिलो मुद्रामा भेटिए । लामो कपाल, दाह्री, गोलीका खोकाले बेरिएको शरीर ईतिहास बन्यो उनको । सेतो दौरासलवार, राजयोग प्रशिक्षणको लोगोको साथमा भेटिएका उनले पकाएको अन्न नखाएको नै २० वर्ष बितिसकेको बताउँछन् ।

१४ वर्षसम्म डाँकुहरुका नाईके रहेर आफूलाई सर्वशक्तिमान बलबान ठानेपनि शान्तिको अभाव महसुस गर्ने उनी प्रजापिता ब्रह्मा बाबासँगको प्रत्यक्ष साक्षात्कारले यो स्वर्गीय जीवन मिलेको बताउँछन् । नेपालका विभिन्न स्थानमा उनले आफ्नो डाँकु जीवन र राजऋषि जीवन भोगाई सुनाईसके । यहाँको हरियाली र नेपालीको मायाले डाँकु जीवनको जंगल र गरीबहरुको मायासँग उनले तुलना गर्न समेत भ्याए । पोखराका पत्रकारमाझ हिन्दी भाषामा बडो रवाफका साथ गुण्डा अवस्थाबारे बताईरहँदा बाबाको आर्शिवादले जीवन नै परिवर्तन भएको समयलाई सम्झिँदा उनी सौम्य र शान्त देखिन्थे ।

‘सबै मानव पूर्ण तब हुन्छ, जब शान्ति उसले महसुस गर्छ, समाज शान्त बन्छ ।’ यही मुलमन्त्रका साथ डाँकु पञ्चमसिंहले जीवन परिवर्तन गरे । जुन समूहले भारत सरकार, सबै भारतीय जनतालाई आजित बनाएको थियो, त्यही समूहका नाईकेलाई नै प्रजापिता ब्रह्मा बाबाको अनुकम्पाले साधु बनाएपछि तत्कालिन प्रधानमन्त्री ईन्दिरा गान्धीले उनीसँग लोकनायक जयप्रकाश नारायणको समन्वयमा आठ बुँदे माग पूरा गर्ने भएपछि उनी आत्मसमर्पण गर्न तयार भए । ‘देवी माताले दर्शन नदिएसम्म अन्नपानी नखाने संकल्पपछि मैले जब दर्शन पाएँ, त्यसपछि शान्तिको बाटोमा अघि बढ्न प्रेरणा मिल्यो ।’ पञ्चमसिहं विगतलाई यसरी स्मरण गर्छन् ֲ लोकनायक जयप्रकाश नारायणले प्रधानमन्त्रीसँग भेटाईदिने आश्वासनपछि समूहसँग बैठक बसेर आफ्ना आठ शर्त अघि सारे, पछि पूरा हुने भएपछि आत्मसमर्पण गरेँ ।’

१९७७ मा प्रधानमन्त्रीले उनलाई जेलमै चिठी लेखेर प्रशंसा पनि गरेकी थिईन् । उनका आठ शर्तमा ५५० जना लडाकूलाई फासी नदिईने, खुल्ला जेलमा राखिनुपर्ने, उचित खानाको व्यवस्था, प्रत्येकलाई तीस बिगाहा जमिन, बच्चालाई पढाई लेखाई, नोकरीको व्यवस्था, पारिवारिक वातावरणमा बस्न दिईनुपर्ने, जसलाई लुटियो उनीहरुलाई पनि जमिन र नोकरी दिईनुपर्ने लगायतका माग उनको थियो । ईन्दिरा गान्धीको सरकारले सबै शर्त मानेपछि उनी आत्मसमर्पण गरे तर न्यायलयले दुई सय बढिको हत्या गरेको लगायतका विभिन्न अपराधका कारण उनलाई फाँसीको सजाय सुनाउने भयो, लोकनायक जयप्रकाश नारायणकै कारण पञ्चमसिंहलाई जन्मकैदमा सजाय झारियो पछि उनी ब्रह्माकुमार बनेपछि आठ वर्षमै उनलाई जेलमुक्त गराईयो र उनी अहिले हरेक जेल, विद्यालयमा शान्तिका सन्देश प्रवाह यसरी नै गर्दै आएका छन् ।

डाँकु जीवनमा पनि अन्याय अत्याचार कुरीति विरुद्ध लड्ने गरेको स्मरण गर्दै उनी डाँकुहरु चलचित्रका जस्ता नहुने बताए । एकता हुन्छ, संगठन हुन्छ नियम विपरित जानेलाई कडा कारबाही हुन्थ्यो, देवी भक्ति त कति हुुन्छ कति ? उनले स्मरण गरे त्यो सब नाटक जस्तो लाग्छ, खलपात्र थिएँ अहिले शान्ति दुत भएर हिँडेको छु । त्यसैले त यति धेरै उमेरमा पनि उस्तै छु । सक्रिय छु । उनी अहिले जेलजेलमा पुगेर डाँकुहरुलाई जेलजीवन सकिएपछि पुनः अपराधिक गतिविधिमा जान नदिन आफ्ना जीवन परिवर्तनका कथा सुनाउँदै हिँड्छन् । विचार क्रान्तिका शान्ति दुत बनेर हिँडेको बताउने उनी सबैले आफ्नो संसार सुखमय बनाउनुपर्ने र यसका लागि शान्ति नै मुख्य कुरा रहेको बताउँछन् । उनका छोरी समेत ब्रह्माकुमारी बनेकी छिन् भने छोरा पनि अभियानमा लागिपरेका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पश्चिम नेपाल महासचिव ब्रह्माकुमार शैलेषराज बरालले विश्वका कुनै पनि व्यक्तिमा मानवीय संवेदना हुने भएकाले जीवन भोगाईमा परिस्थितिवश गलत बाटोमा लागेपनि विचार परिवर्तन गर्न सकिने बताए । उनले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ज्ञान र राजयोग अभ्यासले सबै सम्भव रहेको बताए ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द, क्षेत्रीय मुख्य कार्यालय पोखराकी सञ्चालिका शोभा दिदीले सन् १९३७ मा भारतको हैदरावाद सिन्ध भन्ने ठाउँबाट स्थापित केन्द्र अहिले १३५ राष्ट्रमा १० हजार बढि शाखा केन्द्रका रुपमा फैलिएको जानकारी दिईन् । अहिले राजस्थान माउण्ट आबुमा मुख्य कार्यालय रहेको र नेपालमा २०२२ देखि सुरु भएको उनले जनाईन् । नेपालमा हाल ५ सय बढि सेवा केन्द्र तथा एक हजार बढि पाठशाला छन् । पोखरामा २६ वर्ष अघिदेखि मानव हितमा यसले सेवा गर्दै आएको उनले बताईन् । कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी रमा दिदीले गरेकी थिईन् ।

यसै सम्बन्धी रञ्जन अधिकारीले तयार पारेको रिपोर्ट बिहीबार साँझ 6, राति 9:30  र शुक्रबार बिहान 6 बजे Big News मा सुन्न सक्नुहुन्छ ।

कमेन्ट गर्नुहोस्
Share: