रेबान पोखराको सहयोगमा तालबाराहीका विद्यार्थीलाई शुद्ध पिउने पानी

350
0
Share:

रञ्जन अधिकारी पोखरा, २७ फागुन /पोखरा ६ स्थित तालबाराही उच्च माविका विद्यार्थीलाई शुद्ध पिउने पानीको समस्या अब हटेको छ । यसअघि सिधै धाराको पानी प्रयोग गर्दै आएका विद्यालयका १२ सय विद्यार्थीले युरो गार्ड मार्फत फिल्टरिङ भएको शुद्ध पानी उपभोग गर्न पाउनेछन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेबान) पोखराको सहयोगले विद्यालयमा पानीको समस्या टरेको हो । रेबान पोखराले एक लाख ३० हजार बढि खर्चमा विद्यालयमा दुई ओटा स्टील टंकीका साथै दुई ओटा यूरो गार्डको व्यवस्था गरिदिएको छ ।

विद्यालय परिसरमा बुधबार आयोजित एक कार्यक्रमका बीच रेबान पाोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले ‘सौजन्यः रेबान पोखरा’ लेखिएको स्टीकर टाँस गरी शुभारम्भ गरे । उनले व्यवसायिक हकहितका लागि लागिरहेको रेबानले सामाजिक उत्तरदायित्व बहन गरेको जनाए । ‘विगतमा पनि यस्ता कार्यहरु विभिन्न विद्यालयमा गर्दै आएका हौं । अझै गरिरहनेछौं’– उनले भने– ‘स्वस्थ जीवनसँग प्रत्यक्ष जोडिएको पानी जस्तो अत्यावश्यक वस्तुमा हाम्रो ध्यान गयो ।’ तालबाराही उच्च माविमा अध्ययनरत विद्यार्थीहरु प्रायःजसो मध्यम र निम्न आयस्तरका परिवारका भएकाले उनीहरुले मिनिरल वाटर सधैं प्रयोग गर्न नसक्ने भन्दै उनले टड्कारो आवश्यकता नै शुद्ध पानीको भएकाले सहयोग गरेको प्रष्ट्याए।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पोखरेलीले प्रयोग गर्ने पानीको मुहानमै फोहोर भएको, हैजाका किटाणु समेत रहेको पुष्टि भईसकेको लगायतका विविध समस्याहरु रहेको थाहा पाउँदा पाउँदै पनि प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था अब हटेको भन्दै खुशी व्यक्त गरे।

विद्यालयकी प्रधानाध्यापक भद्रकाली लामिछानेले  लेकसाईड जस्तो स्थानमा रहेर पनि हजारौं विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा शुद्ध पानी व्यवस्था गर्न नसकिरहेको बेला रेबान पोखराका सदस्यहरुले सबैको हित हुने काम गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिईन् ।

विद्यालयले कार्यक्रमकै अवसर पारी विद्यार्थीहरुलाई सरकारबाट प्राप्त छात्रवृत्ति वितरण समेत ग¥यो । विद्यालयमा अध्ययनरत एक सय ६४ दलित विद्यार्थीहरुलाई जनही चार सय, शिशु कक्षादेखि आठ सम्मका एक सय ९३ छात्राहरुलाई जनही तीन सय र मावि तहमा अध्ययनरत २१ जना जेहेन्दार तथा गरीब छात्रछात्रालाई १७ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।अक्षयकोषको छात्रवृत्ति भने वार्षिकोत्सवका अवसरमा प्रदान गरिने प्रअ लामिछानेले जनाईन् । उनले २०४५ सालदेखि कार्यरत रहँदै आएकोमा अहिले आएर विद्यालयको कार्यकारी प्रमुख हुन पाएको जनाउँदै आफ्नो कार्यकालमा विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग गर्न सबैलाई अनुरोध पनि गरिन् ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य लक्ष्मीबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक ताराप्रसाद पोखरेलले गरेका थिए । तालबाराही उच्च माविमा दश जोड दुई तर्फ तीन सय र दिउँसो मावि तहसम्म नौ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: