हवाई सेवालाई सुरक्षित बनाउन मानवअधिकार आयोगको आग्रह

Share:

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ ।
      
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
      
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न÷गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।
      
यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालकदलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र दुई जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोग गहिरो दुःख व्यक्त गरेको छ । आयोगले यस सङ्कटको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै समवेदना प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: