पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल थालिने, स्थानीयको सदायसयताले दाता र निर्माण कम्पनी उत्साहित

Share:

पोखरा २९ फागुन । मित्रराष्ट्र चीनको एक्जिम वैंक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का पाएको सिएएमसी इञ्जिनियरिङ कम्पनी तत्काल विमानस्थलको काम थाल्न इच्छुक देखिएका छन ।

pokhara-airport-640x430एक्जिम वैंकका उप महानिर्देशक जाओ लियाङ निर्माण कम्पनी सिएएमसी इञ्जिनियरिङ कर्पोरेसनका उपाध्यक्ष सेन्चेङ लिभ तथा ज्याङ सुन सहित पोखरा भ्रमणमा आएको टोलीले यहाँको निजी क्षेत्रसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कम्तिमा ३ वर्षभित्र गुणस्तरीय विमानस्थल निर्माण भई सक्ने जानकारी गराएको हो ।भेटघाट कार्यक्रममा बोल्दै एक्जिम वैंकका उप महानिर्देशक जाओ लियाङले पोखरेलीहरुले चिनिया सदासयता र लगानीप्रति देखाएको चासोले आफूहरुमा उर्जा थपेको बताए । विमानस्थल निर्माणस्थलको बस्तुस्थिति तथा यो क्षेत्रका नागरिकको मनोभावना बुझ्न आएको टोली फर्के लगत्तै नेपाल र चीनसरकारबीच ऋण सम्झौतामा हस्ताक्षर हुने र निर्माण कार्य पनि थालिने उनको भनाई थियो ।

निर्माण कम्पनी सिएएमसी इञ्जिनियरिङ कर्पोरेसनका उपाध्यक्ष सेन्जेङ लिभले निर्माणको क्रममा सघाउन पोखराको निजी क्षेत्र र नागरिक समुदायसँग अपील गरे । उनले विमानस्थल अन्तर्राष्ट्रिय गुणस्तरको हुने र समयमै निर्माण कार्य सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।

भेटघाटको अवसरमा चिनिया टोलीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक विन्दुकुमार थापाले विमानस्थल निर्माणले नेपाल र चीनबीचको सम्बन्ध अझ मजबुत हुने मात्र नभई पोखरेलीको ४० वर्ष अघिदेखिको विमानस्थल बन्ने सपना साकार हुने धारणा राखे ।

निर्माणको क्रममा स्थानीय तहमा आईपर्ने समस्या सुल्झाउन यहाँको निजी क्षेत्र तथा नागरिक समाज तयार रहेको जानकारी दिँदै उनले पोखरेलीले विमानस्थल शिलान्यासको घडीको व्यग्र प्रतीक्षा गरेको जानकारी दिए । थप जग्गा अधिग्रहणको क्रममा मुआब्जा बुझ्न दोस्रो चरणको सार्वजनिक सूचना जारी भई सकेको र तोकिएकै समयभित्र मुआब्जा बुझ्न उहाँले जग्गाधनीहरुलाई आग्रह पनि गरे। तोकिएको समयमा मुआब्जा नबुझे सो रकम संचित कोषमा जम्मा हुने भएकोले समयमै मुआब्जा बुझ्दा जग्गाधनीले रकमको सही सदुपयोग गर्न पाउने अवसर पनि रहेको उनले प्रष्ट पारे ।

नेपाल उद्योग बाणिज्य महासंघ तथा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल निर्माणमा चिनिया सहयोगको मुक्तकण्ठले प्रसंसा गरे । भेटघाटमा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका पूर्व संयोजक कृष्णमोहन श्रेष्ठ, पोखरा पर्यटन परीषदका अध्यक्ष सोम थापा, पूर्व अध्यक्ष टीकाराम सापकोटा तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखेको पनि सहभागिता रहेको थियो ।

सरकारले २०३२ सालमै पोखरा उपमहानगरपालिकाको वडा नम्वर १४, १५ र १८ मा पर्ने छिनेडाँडामा नयाँ विमानस्थल निर्माणका लागि तीन हजार एक सय छ रोपनी जग्गा अधिग्रहण गरेर राखेको थियो । मुअब्जाको किचलो, वजेट अभाव र राजनीतिक अस्थीरताका कारण काम भने सुरु हुन सकेको थिएन । मित्रराष्ट्र चीनको सदासयताबाट त्यहाँको एक्जिम वैंकले सहुलियत दरमा ऋण दिने भएपछि निर्माण कम्पनी सिएएमसीले विमानस्थल बनाउने भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: