
चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तिब्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।
बैठकले केन्द्रीय आर्थिक सम्मेलनले हालै अनुमोदन गरेको आर्थिक सुधार सम्बन्धी निर्णयहरुको कार्यान्वयन गर्ने प्रस्तावलाई पनि अघि बढाएको छ । आर्थिक वृद्धि, रोजगारी र उपभोग्य वस्तुको मूल्यमा स्थिरता सुनिश्चित गर्नेतर्फ बैठकले ध्यान केन्द्रित गरेको छ ।
अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नका लागि अघि बढाइएका नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न ठोस कदम अगाडि बढाइने छ । मुख्य परियोजना र वित्तीय नीतिको अग्रसरताका उपकरणहरुलाई अद्यावधिक गरी बढी भौतिक प्रगति गर्नेतर्फ अगाडि बढ्नेतर्फ बैठकले ध्यान दिएको छ ।
साना करदाताका उपलब्ध गराइएको भ्याट र सहुलियतपूर्ण ऋणको राहतलाई साना व्यवसायका लागि थप प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने छ । सार्वजनिक क्षेत्रलाई थप संगठित र विकास गर्नुपर्नेमा पूर्ण रुपमा प्रतिबद्धता व्यक्त गर्दै बैठकले गैर सार्वजनिक क्षेत्रको विकासलाई सहयोग र नीतिगत मार्गदर्शन गर्न प्रोत्साहित गरिने जनाएको छ । विश्वस्तरीय बजारमुखी व्यावसायिक वातावरण निर्माण गर्न निजी व्यवसायको कानुनी अधिकार र चासोलाई संरक्षण गरिने बैठकमा सहमति भएको छ ।
बैठकले स्प्रिङ चाड पछिको अवस्थामा व्यवसाय र उत्पादन क्षेत्रलाई थप व्यवस्थित रुपमा खुला गर्न सहजीकरण आवश्यक रहेकामा जोड दिएको छ । साथै आप्रवासी कामदारलाई उनीहरुका पूर्ववत काममा फर्कन र नयाँ रोजगारी खोज्ने गरी सहजीकरण गर्नुपर्ने कुरामा बैठकले ध्यान दिएको उल्लेख छ ।
चिनियाँ अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेको दैनिक उपभोग्य वस्तुको खपत बढाउन बैठकले जोड दिएको छ । वस्तुको मागका सन्दर्भमा वैदेशिक व्यापार र लगानी बढाउनेतर्फ ध्यान दिन राज्यका सबै निकाय अग्रसर हुनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
उपभोग्य वस्तुको मागलाई तिब्रता दिने सन्दर्भमा सेवामुलक व्यवसाय तथा स्वरोजगारमा आबद्ध व्यक्तिलाई मद्दत गर्नेगरी नीतिहरु अघि बढाइने छ । बैठकले कार र अन्य मूल्यवान सामानको उपभोग वृद्धिलाई प्रबद्र्धन गर्न जोड दिएको छ ।
