वन्यजन्तु हेर्न जिप सफारी

Share:

चितवन : जिल्लाको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ । कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो ।

भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि दुई घन्टाको यात्रापछि पुनःभीमवलीसम्म सञ्चालन हुनेछ । नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालालाई जिप सफारी गराएर औपचारिकरुपमा सफारी सेवा सुरु गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

उनले जिप सफारीका क्रममा गैँडा, चित्तल, जरायो, मयुरलगायतका जीवजन्तु अवलोकन गर्न पाइने बताए । पदमपुर पर्यटनको सम्भावना भएको क्षेत्र हो ।

नगर प्रमुख विनोद रेग्मीले भीमवली वन क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताए । उनले नगरपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर उपप्रमुख विमला लामाले स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको सम्भावना खोजी हुनु सकरात्मक भएको भन्दै यसलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । भरतपुरबाट नजिकै रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको संख्या बढ्ने उनले विश्वास व्यक्त गरे ।

यहाँ आन्तरिक पर्यटक आकर्षित गर्न घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याइएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिए । पहिलो चरणमा सात घरबास सञ्चालनमा ल्याइएको छ । पाहुनाको आगमन बढेसँगै घरबासको संख्या पनि बढाइने उनको भनाइ छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ)को सहयोगमा घरबास निर्माण गरिएको हो । घरबास सञ्चालनका लागि आवश्यक तालिम दिइएको छ । भीमवली सामुदायिक होमस्टे नगरपालिकाकै पहिलो हो । घरबासमा आउने पाहुनालाई थारुको परम्परागत खानासँगै थारु समुदायको कलासंस्कृतिले मनोरञ्जन प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: