
काठमाडौं, चैत ५ / भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनलमा बंगलादेशलाई १ सय ९ रनले पराजित गर्दै हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

३ सय ३ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमा समेटिएको हो । बंगलादेशका नासिर हुसेनले ३५, सविर रहमानले ३०, सौम्य सरकारले २९, मुसफिकर रहिमले २७ तथा तमिम इकवालले २५ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका उमेश यादवले चार तथा मोहम्मद सामी र रविन्द्र जडेडाले दुई दुई विकेट लिए । यसअघि अष्ट्रेलियाको मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धातिर ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २ रन बनायो ।
भारतका ओपनर रोहित शर्माले शतक पुरा गरे । १ सय २६ बल खेल्दै उनले १४ चौका र ३ छक्काको मद्दतमा १ सय ३७ रन बनाए । सुरेश रैना ६५, शिखर धवन ३० रनमा आउट भए ।
