तिखाचुली पर्यटनसँग जोडिदै

151
0
Share:

स्याङ्जा :  फेदीखोला गाउँपालिका–५ मा पर्ने तिखाचुली यहाँको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । साविकको बाँगेफड्के गाउँ विकास समितिमा रहेको यो स्थल बाँगेको फड्के भन्ने गाउँबाट करिब १.५ किमि पञ्चासे मार्गमा पर्दछ ।

तिखो परेर ठडिएको चुली भएकाले यसको नाम तिखाचुली रहन गएको स्थानीयवासी बताउँछन् । हिमाली दृश्यावलोकनसँगै यहाँबाट पर्वतका अधिकांश स्थान, आँधिखोला, फेदिखोलाका अधिकांश भाग र पुतलीबजार नगरपालिकाका धेरै भाग अवलोकन गर्न सकिने वृहद् फेदीखोला पोखरा सम्पर्क समाजका सदस्य एवम् बाँगे पोखरा सामुदायिक मिलन चौतारीका कोषाध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिए ।

पदयात्राका लागि आउने पर्यटकका साथै धार्मिक पर्यटनको सम्भावना भए पनि प्रचारप्रसारको अभावका कारण यो ओझेलमा परेको उनले बताए । “यहाँको धार्मिक एवम् ऐतिहासिक महत्वलाई अझै पनि उजागर गर्न सकिएको छैन”, क्षेत्रीले भने, “पूर्वाधार विकास गरेर प्रचारप्रसार गर्न सके पर्यटनकै माध्यमबाट सिङ्गो बाँगे फड्के क्षेत्रका स्थानीयवासीको आयआर्जन बढाउन सकिन्छ ।”

तिखाचुलीको समथर भागमा डाँडापोखरी र मन्दिर पनि छ । डाँडापोखरी उच्च भूभागमा पर्ने भए पनि बाहै्रमास पानी उपलब्ध हुनुलाई धार्मिक महत्वसँग जोडिएको छ । यसको निर्माण परापूर्वकालमा भएको हो । प्रत्येक वर्ष जेठमा बलिसहित यहाँ पूजा गरिन्छ । प्रकृति पूजाको ऐतिहासिक चलनसँगै वर्षाको माग गर्दै अन्नबाली राम्रो होस् भनेर बाँगे गाउँका बासिन्दा उक्त पूजामा सहभागी हुने गरेका स्थानीय ८४ वर्षीय पूर्णवीर गुरुङले बताए ।

बलि दिएको बोकाको मासु घर नल्याइ बाटोमा पकाएर सामूहिक रुपमा प्रसादस्वरुप खाने चलन छ । उक्त दिन खेतबारीमा काम नगर्ने, पूजा गरिएको पवित्र जल बीउविजन र झारपातमा छर्किएमा पर्याप्त उत्पादन हुने जनविश्वास छ । पञ्चासे पदमार्गमा पर्ने यो क्षेत्र पदयात्राका दृष्टिले पनि महत्वपूर्ण रहेको स्थानीय सुनमाया सुनारले बताए । पञ्चासे पदमार्गमा आउने विदेशी पर्यटक बाँगे गाउँमा बस्ने गरेका छन् । 

यस क्षेत्रको आसपासमा पर्ने जङ्गल जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यहाँ भालु, रतुवा, चितुवा, बाँदर, स्याललगायत वन्यजन्तुका साथै कालिज, उल्लु, लामपुच्छ्रे, बाज, कोइलीजस्ता चराचुरुङ्गी पाइन्छन् । एक सय १३ प्रजातिका सुनाखरी पाइने यहाँको जङ्गलमा रक्तचन्दन, लालीगुराँस, चाँप, लौठ आदि वनस्पतिका साथै चिराइतो (तिते), सतुवा, सुगन्धवाल, कुरिलो, लोक्ता पाइन्छ । जैविक विविधताको अध्ययनका लागि पनि यो क्षेत्र महत्वपूर्ण मानिएको छ ।

पदयात्राका साथै छोटो दूरीको हाइकिङका लागि पनि यस क्षेत्रलाई विस्तार गर्न थालिएको हाइकर्स क्लब नेपालका संयोजक कृष्ण रानाभाटले बताए । तिखाचुलीको महत्वबारे फेदीखोला गाउँपालिकाले पाठ्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ योजना बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: