
काठमाडौं : नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको गहन अध्ययन अर्को महिना शुरु हुने भएको छ। विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गर्ने तयारी चिनियाँ पक्षले गरेको छ।
२ महिना पहिले विस्तृत अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आएर केही समय बसेर फर्किएको थियो। नयाँ वर्ष मनाउन गएको टोली फर्किएलगत्तै विस्तृत अध्ययन अघि बढाइने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए।
चिनियाँ टोली फर्केपछि आवश्यक प्राविधिक जनशक्ति पनि थप हुने चित्रकारले बताए। उनले भने, ‘उहाँहरु जनशक्ति थप गरेर फर्किएपछि अध्ययनले गति लिन सक्छ।’
पहिलो चरणमा आएका व्यक्ति रेलसम्बन्धी विज्ञ रहेको प्रवक्ता चित्रकारले बताए। त्यसमा पनि तिब्बत क्षेत्रमा रेल निर्माणमा संलग्न मान्छे आएर सर्वेक्षण गरेका थिए। ‘लिडिङ एक्सपर्ट’ आएर फिल्डमा सर्वेक्षण गरेको उनले बताए। उनले भने, ‘अब गहन अध्ययनका लागि जनशक्ति थप गरेर आउनेछन्।’
चिनियाँ पक्षले ‘स्टाण्डर्ड गेज’ मा निर्माण हुने गरी अध्ययन गर्ने विभागले जनाएको छ। भारतीय पक्षले निर्माण गरेको रेलमार्ग ‘ब्रोड गेज’ मा रहेकामा विश्वमा पछिल्लो र आधुनिक मानिने स्ट्यान्डर्ड गेजमा अध्ययन हुन लागेको हो।
नेपालले सकेसम्म एउटै गेज गर्दा राम्रो हुने र यसले गर्दा भविष्यमा सञ्चालन र मर्मतमा सजिलो हुने उनले बताए। उनले भने, ‘अहिलेको सन्दर्भमा नवीनतम प्रविधि स्ट्यान्डर्ड गेज हो, भारत आफैँले पनि आफ्ना रेल स्ट्यान्डर्ड गेजमा बनाइरहेको छ।’
नेपालमा ट्याक गेज प्राविधिक विषय मात्रै नभएर रणनीतिक विषय भएकाले पनि त्यसमा थप छलफल आवश्यक हुने प्रवक्ता चित्रकारले बताए। नीतिगत निर्णयका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा मन्त्रिपरिषद् वा संसदमा छलफल हुनुपर्ने उनको भनाइ छ।
रेल विभागले हेर्दा एउटै गेज हुँदा सञ्चालन र मर्मतमा सजिलो हुने उनको भनाइ छ। संसारका धेरै देशमा गेजमा समस्या रहेको भए पनि ढिला मात्रै रेलको निर्माण शुरु भएकाले यसमा एकरुपता ल्याउन सकिने सम्भावना रहेको उनले बताए। उनले भने, ‘हामीले ढिला शुरु गरेकाले एउटै गर्न सकिन्छ।’
चीनमा पनि केरुङबाट सिङाचेसम्म रेल निर्माण भएर सञ्चालनमा छ। त्यसबाट पश्चिम अध्ययनको काम शुरु भइसकेको र राष्ट्रिय योजनामा यसलाई समेटेर द्रुत गतिमा काम अघि बढाइरहेको प्रवक्ता चित्रकारले बताए।
अब बनाउन ४ सय किलोमिटरभन्दा बढी बाँकी रहेको अनुमान गरिएको छ। चीनका लागि त्यो लम्बाइमा निर्माण गर्नु ठूलो विषय नभएको उनले बताए। उनले भने, ‘बेइजिङ–संघाई रेलमार्ग ३ वर्षमा बनाउने भनेको त्योभन्दा कम समयमा नै सम्पन्न गर्ने मुलुक हो, उसले गर्छु भनेपछि सक्नेछ।’
नेपालको सीमासम्मको रेलमार्ग निर्माण गर्नुमा चीनको आफ्नो प्रयोजनसँगै नेपाललाई पनि लक्षित गरेको उनले बताए। चीनको नेतृत्वमा आएका नेताहरूले विगतदेखि नै नेपालसँग रेलमार्गमार्फत जोडिने कुरामा चासो देखाएको उनले बताए। उनले भने, ‘यो रेलमार्ग चाँडो निर्माण हुँदा त्यसबाट नेपाललाई मात्र फाइदा छ।’
रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले नयाँ वर्ष मनाउन चीन फर्किएको टोली आएपछि नै अध्ययन अघि बढ्ने बताए। अध्ययन साढे ३ वर्षमा सक्ने लक्ष्य रहेको उनले बताए।
पुसमा आएको टोलीले नक्सा देखाएर अहिले ल्हासाबाट सिङाचे आइसकेको र सिङाचेबाट यताको डिपिआर भइरहेको जानकारी दिएको उनले बताए। नक्सामा यता आउँदा जोडिँदै आउने देखाएको जानकारी उनले दिए। सो रेलमार्गको लम्बाइ नेपालभित्र ७२ किलोमिटर रहेको छ।
केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौंतर्फ आउने विभागले जनाएको छ। तिब्बतभित्र केरुङभन्दा माथि एउटा ताल रहेको र त्यहाँबाट यता छुट्टिएर आउने उनले बताए। तालबाट मानसरोवर जाने मार्गबाट छुट्टिएर यतातर्फ आउने गरी रेलमार्गको अध्ययन हुनेछ।
रेलमार्ग निर्माणमा कति लगानी आवश्यक पर्छ, समय र कठिनाइ के के छन् भनी पत्ता लागेपछि नै निर्माण कसरी गर्ने भन्ने छलफल हुने महानिर्देशक विसुरालले बताए।
