उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

139
0
Share:

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको छ । आणविक शक्ति सम्पन्न उत्तर कोरियाले थप उत्तेजक प्रतिबन्धित हतियार परीक्षण गरिरहेको छ ।

जवाफमा सियोलले वासिङ्टनसँग सुरक्षा सहयोग बढाउन कदम चालेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब बिन्दुमा पुगेको छ । गत वर्ष किम जोङ उनको सरकारले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र सहयोगी सियोलको रक्षाका लागि अमेरिकाले यस क्षेत्रमा थप सम्पत्ति स्थानान्तरण गर्न खोजिरहेको बेला सामरिक आणविक हतियारसहित हतियारको उत्पादनमा तीव्र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

सियोलको ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले उत्तर कोरियाको पश्चिमी बन्दरगाह शहर नाम्पोबाट स्थानीय समयअनुसार साँझ ६ः२० बजे छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको जनाएको छ । “हामीले निगरानी र सतर्कता लाई मजबुत बनाएका छौँ । हाम्रो सेनाले अमेरिकासँग नजिकबाट सहकार्य गर्दै प्रतिवादको पूर्ण तयारी गरेको छ,” विज्ञप्तिमा भनिएको छ । उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम आत्मरक्षाका लागि भएको दाबी गर्दै आएको छ र अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको संज्ञा दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: