
रञ्जन अधिकारी पोखरा, ९ चैत /नेपाल लगायत विश्वभर सोमबार विभिन्न कार्यक्रम गरी ६५ औं ‘विश्व मौसम विज्ञान दिवस’ मनाईएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि प्रत्येक वर्ष २३ मार्चमा विश्वभर मौसम दिवस मनाईने गरिन्छ । संयुक्त राष्ट्रसंघले यस वर्ष दिवसको नारा ‘जलवायु गतिविधिका लागी जलवायु ज्ञान’ तय गरेको छ । वर्तमान अवस्थामा जलवायुका सन्दर्भमा ज्ञान तथा खोज अनुसन्धान नभएसम्म जलवायुका गतिविधि गर्न नसकिने ठहर गर्दै यो नारा तय गरिएको हो । बढ्दो सहरीकरण र तीव्र जनसंख्या वृद्धिका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि गर्न सकिने उपायबारे जनचेतना जगाउनुपर्नेमा जोड दिईएको छ ।
दिवसको अवसरमा पोखरामा पनि जल तथा मौसम विज्ञान विभाग, पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराले एक कार्यक्रम आयोजना ग¥यो । पश्चिमाञ्चलका निमित्त क्षेत्रीय प्रशासक दिवाकर बास्तोलाले श्लोकमार्फत नै प्रकृतिले नै संसार संचालन गरिरहेकाले प्रकृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पृथ्वीले हामीलाई कति दियो र हामीले के गर्न सक्यौं भन्नेबारे सोच्न सक्नुपर्छ ।’ उनले भने– ‘प्रकृतिको जति विनाश भयो, सबै मानवीय कारणले नै भयो । जे बिग्रियो व्यक्तिबाटै बिग्रियो ।’ बास्तोलाले भगवान, धर्ती, सूर्यप्रति पनि कृतज्ञ हुनुपर्ने अध्यात्मिक विचार राख्दै व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरे प्राकृतिक सन्तुलन नखलबलिने बताए ।
सो अवसरमा मौसमविद् वरुण पौडेलले जल तथा मौसम विज्ञान विभागको गतिविधि तथा मौसम दिवस सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । मौसम तथा जलवायुबारे प्रष्ट पार्दै उनले नेपालको हावापानी, मौसमबारे जानकारी गराएका थिए । उनले दैलेख, भेडेटार र काठमाण्डौंको मुख्य कार्यालयमा तीन राडर राख्ने तयारी भईरहेको र यसपछि मौसम विभागलाई थप वैज्ञानिक तबरले कार्य सम्पादन गर्न सहयोग पुग्ने बताए ।
पृथ्वीनारायण क्याम्पसका प्रा.डा. कृष्ण केसीले विकसित औद्योगिक राष्ट्रहरुमा अत्याधिक हरितगृह ग्याँस उत्सजर्नका कारण नेपाल जस्तो हिमश्रृंखला भएको राष्ट्रमा व्यापक क्षति पुगेको भन्दै बढ्दो तापक्रमले हिँउ क्षेत्र घट्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘हिमनदि खुम्चँदै जाने र हिमताल बन्दै जाने हो भने सेतीमा आएको बेमौसमी प्रतिकुल अवस्था निम्तिन्छ ।’ उनले भने– ‘हाम्रा हिमश्रृंखलाहरु रक्की माउण्टेन बन्नेछन् ।’ विकसित राष्ट्रहरु जसले वायुमण्डलीय सन्तुलनलाई खराब बनाउँदै गएका छन् उनीहरु नै घटाउने अभियानमा लाग्न हिच्किचाईरहेको केसीले बताए ।
भू–संरक्षण कार्यालयका प्रमुख विष्णुप्रसाद पोख्रेलले जलवायु परिवर्तनबाट भएका असर मनन गर्दै यसको प्रभाव कम गर्न सोच्नुपर्ने बताए । कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत रमेश कोईरालाले मौसम र कृषि आपसमा जोडिएको विषय रहेकोले मौषम प्रतिकुल हुनेबित्तिकै कृषिमा पनि प्रत्यक्ष प्रभाव पर्ने बताए । सरकारले चट्याङ र असिना पुर्वानुमान गर्ने यन्त्र राख्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै उनले यसले कृषकहरुलाई राहत मिल्ने बताए । कृषि विकासमा वातावरण प्रतिकुलताको अउसर र चुनौतिबारे गम्भीर हुनुपर्ने उनको भनाई छ ।
पोखरा उपमहानगरपालिका कार्यालयका वातावरण अधिकृत निर्मलमानसिंह भण्डारीले मौसम परिवर्तन र हावापानीबारे जानकारी गराउँदै जलवायु परिवर्तन कारण, यसका प्रभाव, जैविक विविधता, अनुकुल र न्युनिकरण सम्बन्धमा अवधारणा प्रस्तुत गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखरा कार्यालय प्रमुख अनिलकुमार शाहले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । नायव मौसम विभाग सहायक भिमप्रसाद पौडेलले स्वागत गर्दै कार्यालयका गतिविधिबारे जानकारी गराए । पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय अन्तर्गत दुई फिल्ड कार्यालयहरु पोखरा र भैरहवा विमानस्थलमा रहेको र हावापानी केन्द्र ३२ तथा वर्षामापक ८४ गरी कूल १२४ केन्द्रहरु सञ्चालनमा रहेको उनले जनाए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जसु गुरुङले गरेकी थिईन् ।
युनेस्कोको पछिल्लो तथ्यांकअनुसार नेपालमा ०.०५ तापक्रम वृद्धि भइरहेको छ । जलवायु परिवर्तनका कारण हाल ३० हिमताल फुट्ने खतरामा छन् । तथ्यांकअनुसार प्रत्येक वर्ष वायु परिवर्तनका कारण विश्वभर १२ लाख मानिसको मृत्यु हुने गरेको छ । विश्वमा हुने हरितगृह ग्या“सको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत मात्रै छ तर यसको मार नेपाल जस्ता देशलाई परेको छ । कार्बनडाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखापरेको हो ।
पछिल्ला दुई सय वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्या“स र ओजन तह विनाश गर्ने क्लोरोफोलोरो कार्बनजस्ता विषाक्त ग्या“स उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ । परावर्तित विकिरण वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरित गृह ग्या“सका प्रमुख स्रोतमा वनजंगल विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगीकरणजस्ता क्रियाकलाप पर्दछन् ।
