अपांगता भएका व्यक्तिका लागि लोकसेवा तयारी तालिम

Share:

रञ्जन अधिकारी पोखरा, १२ चैत /नेपाल सरकार, महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयको सहयोगमा महिला तथा बालबालिका कार्यालय, कास्कीले अपांगता भएका व्यक्तिका लागि सञ्चालन गरेको १५ दिने लोकसेवा तयारी तालिम विहीबार समापन भएको छ ।

फागुन २८ देखि सञ्चालित तालिममा अपांगता भएका व्यक्तिहरुलाई निजामति सेवा प्रवेशका लागि सरकारले छुट्याउने आरक्षणबारे जानकारीका साथै लोकसेवा तयारी कक्षाबारे जानकारी गराईएको थियो । तालिममा पश्चिमाञ्चलका विभिन्न नौ जिल्लाका ३५ जना सहभागी थिए । कास्की सहित तनहुँ, स्याङ्जा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलबस्तु र गुल्मीका गरी शारीरिक अपांगता भएका व्यक्तिहरु १२ जना, दृष्टिविहीन १७ जना, स्वरबोलाई समस्या दुई र बहिरा भएकाहरु चार जना सहभागी भएको आयोजकले जनाएको छ ।

१५ दिनसम्मको तालिममा लोकसेवाले लिने परीक्षाका लागि आउन सक्ने प्रश्नहरुबारे पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलिया, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, कोष नियन्त्रक केशव ढकाल, तथ्यांक अधिकृत ऋषिराम सिग्देल, स्याङ्जा जिल्ला अदालतका श्रेष्तेदार मुकुन्द आचार्य, कर अधिकृत विजय लामिछाने, सडक कार्यालयका अधिकृत मुक्तिरमण पराजुली लगायतले सहजीकरण गरेका थिए । सरकारी कार्यक्रम अन्तर्गत निःशुल्क संचालन भएको तालिममा सहभागीहरुले दैनिक पाँच सय खाना तथा यातायात भत्ता प्राप्त गरेका थिए भने खाना तथा आवासको व्यवस्था सहभागी आफैंले गर्नुपर्ने थियो ।

विहीबार तालिमको समापन गर्दै क्षेत्रीय प्रशासक थपलियाले राज्यले अपांगता भएका व्यक्तिहरुलाई निजामति सेवा प्रवेशमा विशेष अवसर प्रदान गरेको भन्दै यसलाई सदुपयोग गर्न जोड दिए । लोक सेवा परीक्षाका लागि तयारी गर्न र एकदुई पटकको प्रयासमा पनि सफल हुन नसके हिम्मत नहार्न जोड दिँदै उनले थपे – ‘म पनि पटक पटकको प्रयासमा यहाँ आईपुगेको हुँ, लोकसेवामा कहिल्यै फेल हुँदैन, मात्र पास हुनका लागि प्रयास गर भनेको हो । फेल भएको सर्टिफिकेट त कहिल्यै दिँदैन ।’ अबको जमाना प्रतिष्पर्धाको भएकाले हरेस नखाईकन अघि बढ्न पनि उनले सुझाए ।

कार्यक्रमको अध्यक्षता समेत गरेकी महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख लक्ष्मी जिसी कार्कीले अपांगता भएका व्यक्तिहरु पनि सबलाङ्ग जस्तै क्षमतावान् रहेको तर शारीरिक रुपमा केहिकठिनाई रहेपनि शिक्षामा भने युद्ध गर्न सक्ने क्षमताको रहेको बताईन् । कोष नियन्त्रक केशव ढकालले राम्रो अवसर पाएको भन्दै तालिममा सहभागीहरुले भरपूर फाईदा उठाउन सुझाव दिए ।

राष्ट्रिय अपाङ्ग महासंघ कास्कीका अध्यक्ष गंगाबहादुर खड्काले एक दुई वर्षमा पनि खरिदार तथा नासु पदमा एक दुई जनाले लोकसेवामा नाम निकाल्न नसके तालिमको सार्थकता नरहने बताए । कास्की नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदीले तालिम ठूलो अवसर भएकाले सदुपयोग गर्न जोड दिए ।

तालिममा सहभागी मध्येबाट कुमार पुन र नारायणी ढकालले तालिम फलदायी भएको बताउँदै आफूहरुले सक्दो प्रयास गर्ने बताए । कार्यक्रमको सञ्चालन सत्या पहारीले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: