आयातित महको मारमा स्वदेशी उत्पादन

132
0
Share:

 काठमाडौं : नेपालमा उत्पादित महले बजार नपाउँदा किसानहरू चिन्तत बनेका छन् । विदेशी महको आयात बढ्दै गएपछि नेपाली उत्पादनले बजार नपाउँदा किसान चिन्तित बनेका हुन् ।

 सत्रौँ राष्ट्रिय मह दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले नेपालका हरेक कृषकको घरमा बिक्री नभएर मह थन्किएर बसेको बताए । नेपालमा उत्पादित महको लागत मूल्य बढी हुने र भारतबाट आयातित महको मूल्य कम पर्ने भएकाले नेपालमा उत्पादित महले बजार पाउन नसकेको हो । यसबाट गत वर्षको पाँच सय मेट्रिक टन मह कृषकसँग र एक हजार मेट्रिक टन व्यवसायीसँग थन्किएको (स्टक रहेको) उनको भनाइ छ । यहाँ उत्पादित महको गुणस्तर मापनका लागि समस्या हुने गरेको भन्दै उनले गुणस्तर मापनको कामलाई छिटो गरेर महलाई बजारमा लैजानुपर्ने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराका वरिष्ठ बालिविकास अधिकृत गोविन्द पोखरेलले नेपालमा अहिले पनि बर्सेनि एक हजार पाँच सय ६६ मेट्रिक टन मह आयात हुने गरेको बताए । सोमध्ये एक हजार पाँच सय ४६ मेट्रिक टन भारतबाट आयात हुने गरेको छ । नेपालमा वार्षिक आठ हजार मेट्रिक टन मह खपत हुने गरेको उनको कार्यपत्रमा उल्लेख छ । नेपालबाट वार्षिक आठ मेट्रिक टन मह अष्ट्रेलिया, अमेरिका, जापान, कतारलगायत देशमा निर्यात हुने गरेको छ ।

 मौरीपालन व्यवसायमा नीतिगत, प्राविधिक, बजारीकरणलगायतका समस्या हुँदा नेपालको महले बजार पाउन नसकेको उनको भनाइ छ । मौरी प्रवर्द्धन नीति, २०७३ को कार्यान्वयन हुन नसक्नु, मौरी बीमा र यसको कार्यान्वयनतर्फ व्यवसायी आकर्षित बन्न नसक्नु, विषादीको प्रयोगसम्बन्धी नीति बन्न नसक्नु, मौरी चरन र मौरी स्थानान्तरणमा देखिएको समस्या समाधान गर्न नसक्नु मुख्य समस्याको रूपमा रहेको उनको कार्यपत्रमा उल्लेख छ । यी नीतिगत समस्या समाधानका लागि तीन तहका सरकारबीच समन्वयको अभाव भएको उनले बताए ।

 अहिलेको जनशक्तिमा दक्षताको कमी, मौरी विज्ञको अभाव, मौरीसम्बन्धी विषयमा अनुसन्धानको कमी, गुणस्तरीय मौरी घार तथा मौरीपालनसम्बन्धी अन्य सामग्रीको अभाव, गुणस्तरीय भालेको अभाव, सीमित मौरी चरन क्षेत्रमा मौरीपालकबीच प्रतिस्पर्धा, चरन नक्साङ्कन भई पर्याप्त चरन क्षेत्रको पहिचान हुन नसक्नु जस्ता समस्या मौरीपालक कृषकले भोग्दै आउनुपरेको छ । चिउरीलगायतका चरनजन्य वनस्पतिको संरक्षण एवं क्षेत्र विस्तार हुन नसक्नु, विषदीको बढ्दो प्रयोग अहिलेको मौरीपालन गर्ने किसानका लागि समस्या देखिएको छ । 

 कार्यपत्र प्रस्तुत गर्दै मौरी विज्ञ डा शिवप्रसाद रिाजालले नेपालमा उत्पादित महको बजार व्यवस्थापनका लागि सरकारका कुनै पनि निकायले ध्यान दिन नसक्दा मौरीपालन व्यवसाय धराशाही बन्ने खतरा बढेको बताए । मौरी लोप भएको चार वर्षमा जीवनको अस्तित्व समेत खतरा हुने भन्दै उनले मौरी र मौरीपालक किसानको समस्या समाधान गर्नेगरी काम गर्न जरुरी रहेको बताए । मौरीका कारण ८० प्रतिशत परागसेचन हुने भए पनि कृषकले यस विषयलाई बुझ्न नसकेको उनले बताए । विषादीको प्रयोगले अझै समस्या बल्झिने गरेको उनको भनाइ छ ।

सो अवसरमा मह र स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले मह सेवन सबै प्रकारका रोगका लागि उपयुक्त रहेको बताए । उनले घाउको उपचारदेखि अन्य रोगको उपचारका लागि मह उत्तम भए पनि चिकित्सकको सल्लाहअनुसार सेवन गर्नुपर्ने बताए । उनले भने, “महजन्य उत्पादन एक वर्षमुनिका बालबालिकामा प्रयोग गर्नुहुँदैन ।” अन्य उमेरका व्यक्तिलाई दैनिक १० चम्चासम्म मह खुवाउन उचित हुने उनको भनाइ छ ।

 महबाट क्यालोरी पर्याप्त मात्रामा पाइने बताउँदै उनले बिरामीले यसलाई नियमित तर चिकित्सकको परामर्शमा लिनुपर्ने बताए । मह मुटुका रोगी, आन्द्राका रोगी, क्यान्सरका बिरामीलगायत अन्य बिरामीले चिकित्सकको परामर्शमा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, खाद्य तथा गुण नियन्त्रण कार्यालयका घननाथ अधिकारी, नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेलगायतले नेपालमा उत्पादित महको गुणस्तर मापन गरी बजारको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनीहरूले कोरोनाको समयमा महको खपत बढेको भए पनि अहिले सोअनुसार खपत हुन नसक्दा देखिएको समस्या समाधानका लागि स्थानीय तहमा आफू लागि पर्ने बताए ।

 नेपालमा अहिले दुई लाख ४९ हजार छ सय ८० गोला मौरीपालन भइरहेको छ । जसबाट चार हजार ६२ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । एपिस सेराना एक लाख १७ हजार छ सय ८० गोला र एपिस मेलिफेरा एक लाख ३२ हजार गोला मौरी पालिँदै आएको कार्यक्रममा जानकारी दिइएको थियो । नेपालमा मौरीपालक कृषकको संख्या एक लाख ६५ हजारभन्दा बढी रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: