
काठमाडौं, चैत्र १३ । आयोजक राष्ट्रहरु अष्ट्रेलिया र न्यूजिल्यान्डबीच एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्त हुने भएको छ । आगामी आइतबार अष्ट्रेलियाको मेलबर्नमा अष्ट्रेलिया र न्यूजिल्यान्ड विश्वकप क्रिकेटको उपाधिका लागि भिड्ने छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा विहीबार भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलियाले न्यूजिल्यान्डविरुद्ध भिडन्त तय गरेको हो ।
यसअघि पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्यूजिल्यान्ड पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो ।
अब आइतवार हुने खेल जित्दै अष्ट्रेलिया कीर्तिमानी पाँचौपटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्न चाहन्छ । न्यूजिल्यान्ड भने इतिहासमै पहिलोपटक विश्वकप जित्ने लक्ष्यमा छ । समूह चरणमा एकै समूहमा रहेका यी दुई टोलीबीचको भिडन्तमा न्यूजिल्यान्ड विजयी भएको थियो ।
आइतबार हुने फाइनलमा न्यूजिल्यान्ड आफ्नो सोही सफलता दोहोर्याउने प्रयासमा हुनेछ भने अष्ट्रेलियाले विश्व क्रिकेटको आफ्नो गर्बिलो इतिहासलाई निरन्तरता दिँदै न्यूजिल्यान्डसँग बदला लिने कोशिस गर्नेछ ।
